सोमवार, आश्विन १२ गते २०८३

नारायणी नदीले खतराको तह नाघ्यो, तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह

आइतवार , आश्विन ११, २०८३

काठमाडौँ। नारायणी नदी र यसका सहायक नदीहरूमा जलसतह खतराको तहभन्दा माथि पुगेपछि तटीय क्षेत्रमा बाढी र डुबानको उच्च जोखिम सिर्जना भएको छ ।

जल तथा ऊर्जा आयोगको सचिवालय, जल विज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रको बाढी पूर्वानुमान महाशाखाले विशेष बुलेटिन जारी गर्दै सतर्कता अपनाउन आग्रह गरेको छ।  

महाशाखाका अनुसार नारायणी नदीमा खतराको तह ९९.० मिटर० मानिएकामा हाल जलसतह करिब ११.० मिटर पुगिसकेको छ र यो अझै बढ्दो क्रममा छ। देवघाट बाढी मापन केन्द्रमा आज दिउँसो ११ बजे वरपर जलसतह बढेर अधिकतम करिब १३.० मिटरसम्म पुग्न सक्ने अनुमान गरिएको छ। 

आज साँझसम्मै नदीको जलसतह खतराको तहभन्दा माथि नै रहने सम्भावना उच्च रहेको छ।  

यसैगरी, नारायणीका प्रमुख सहायक नदीहरूमध्ये कालीगण्डकीमा बहाव खतराको तहभन्दा निकै माथि पुगेको छ भने सेती, मादी, मर्स्याङ्दी, दरौँदी र चेपे नदीमा बहाव सतर्कता तहभन्दा माथि रही बढ्दो क्रममा छ। बुढीगण्डकी र त्रिशूली नदीमा पनि बहाव सतर्कता तह नजिक पुगेको छ।   


नारायणी नदीमा बहाव उच्च भएपछि चितवन र नवलपरासी जिल्लाका नारायणी नदी आसपासका होचा तथा डुबान सम्भावित क्षेत्रहरूमा बाढीको उच्च जोखिम रहेको छ। 

चितवन र नवलपरासीका नारायणी नदी आसपासका होचा तथा डुबान सम्भावित क्षेत्रका नागरिकहरूलाई तत्काल सुरक्षित र अग्लो स्थानतर्फ स्थानान्तरण हुन अनुरोध गरिएको छ।  

नारायणी नदी र यसका सहायक नदीहरूका तटीय क्षेत्रमा अनावश्यक आवतजावत नगर्न भनिएको छ। 

 नदी किनार, पुल, तटबन्ध तथा जोखिमयुक्त स्थानहरूमा हेर्न वा फोटोरभिडियो खिच्न भिड नगर्न आग्रह गरिएको छ।   

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार