सोमवार, आश्विन १२ गते २०८३

बाढी पहिरोमा परेर मुलुकभर १८ जनाको मृत्यु, एक बेपत्ता

आइतवार , आश्विन ११, २०८३

काठमाडौं । बाढी, पहिरो र हावाहुरीजन्य विपद्मा परी मुलुकभर १८ जनाको मृत्यु भएको छ ।

प्प्रहरीका अनुसार जना बेपत्ता भएका छन् भने तीन जना घाइते भएका छन् ।अविरल वर्षासँगै असोज ८ देखि ११ गते साँझसम्म देशका विभिन्न स्थानमा बाढी आएको छ।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता अविनारायण काफ्लेका अनुसार पछिल्लो चार दिनमा बाढी, पहिरो र हावाहुरीका कारण बागलुङ, पाल्पा र म्याग्दीमा बढी मानवीय क्षति भएको छ । बागलुङमा मात्रै पाँच जनाको मृत्यु भएको छ ।

प्रवक्ता काफ्लेका अनुसार असोज १० गते ताराखोला गाउँपालिका–५ धरमरमा घरमाथिबाट पहिरो खस्दा मनबहादुर रोकाको मृत्यु भएको थियो । यस्तै, असोज ११ गते निसीखोला गाउँपालिका–३ पन्थिखरियामा पहिरोले घर पुरिँदा एक महिला र तीन बालकसहित चार जनाको मृत्यु भएको छ ।

पाल्पामा पहिरोमा परी चार जनाको मृत्यु भएको छ । रिब्दीकोट गाउँपालिका–६ धुस्तुङ गोलफानमा घर पुरिँदा कृष्णकुमारी सारुको मृत्यु भएको थियो । माथागढी गाउँपालिका–२ रुप्सेमा बारीको ढिस्को खस्दा घाइते भएका ७५ वर्षीय शेरबहादुर चिदी मगरको उपचारका क्रममा मृत्यु भएको हो ।

त्यस्तै माथागढी–३ भसकट्टामा पहिरोले घर पुरिँदा ७५ वर्षीय लिलबहादुर घर्ती मगर, उहाँकी १७ वर्षीया छोरी दिना घर्ती मगर र छिमेकी १५ वर्षीया झरना घर्तीको मृत्यु भएको प्रवक्ता काफ्लेले जानकारी दिए।

म्याग्दीमा चार जनाको मृत्यु भएको छ । मालिका गाउँपालिका–३ डाडागाउँमा पहिरोमा परी चिरन पुन र देवबहादुर पुन तथा अन्नपूर्ण गाउँपालिका–३ फगाममा घर पुरिँदा ७५ वर्षीया शिलकुमारी गर्बुजा र ५४ वर्षीया योमाया पुर्जाको मृत्यु भएको छ ।

यसैगरी धनुषाको मिथिला नगरपालिका–११ आपगाछीमा घरमाथिबाट पहिरो खस्दा कमला श्रेष्ठ, रोल्पाको सुनछहरी गाउँपालिका–२ दिबाङमा हावाहुरीले रुख ढल्दा १७ वर्षीया उस्मिता बुढामगर तथा मकवानपुरको मकवानपुरगढी गाउँपालिका–१, धादिङको बेनीघाट रोराङ गाउँपालिका–२ र डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–७ मा एक–एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

म्याग्दीको बेनी नगरपालिका–३ भक्किमली छेपारेमा घरसहित एक जना पहिरोमा पुरिएर बेपत्ता भएका छन् । उनको खोजी भइरहेको छ ।

हुम्लाको अदानचुली गाउँपालिका–४ मुछारिबगरमा पहिरोमा परी तीन जना घाइते भएका छन् । घाइतेलाई नेपाली सेनाको हेलिकोप्टरमार्फत सुर्खेतस्थित कर्णाली प्रदेश अस्पताल ल्याएर उपचार भइरहेको छ । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर र दुई जनाको अवस्था सामान्य रहेको प्रवक्ता काफ्लेले बताए।

यसैबीच पर्वतको जलजला गाउँपालिका–८ फर्सेमा कालीगण्डकी नदीको बहाव बढेर बस्तीमा पस्दा ६६ घर पूर्ण रूपमा बगेका छन् । थप २३ घर जोखिममा परेका छन् । जोखिममा रहेका स्थानीयलाई सुरक्षित स्थानमा सारिएको प्रहरीले जनाएको छ ।

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार