काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलले सांसदका स्वकीय सचिवहरूलाई थप जिम्मेवार, व्यावसायिक र मर्यादित बनाउने उद्देश्यका साथ एक दिवसीय अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ।
आइतबार सिंहदरबारस्थित रास्वपा संसदीय दलको कार्यालयमा आयोजित उक्त कार्यक्रममा सांसदका स्वकीय सचिवहरूले निर्वाह गर्नुपर्ने न्यूनतम जिम्मेवारी, आचरण र दलको नीतिगत स्पष्टताबारे गहन प्रशिक्षण दिइएको थियो।
कार्यक्रममा मुख्य सचेतक कविन्द्र बुर्लाकोटीले रास्वपाको नीति, राजनीतिक विचार तथा दर्शनबारे प्रकाश पार्नुका साथै स्वकीय सचिवहरूको काम, कर्तव्य र अधिकारबारे विस्तृत जानकारी गराउनुभयो।
"संसदीय अभ्यासलाई प्रभावकारी बनाउन स्वकीय सचिवको भूमिका मेरुदण्ड सरह हुन्छ," उहाँले भन्नुभयो, "दलको विचार र नीतिको परिधिभित्र रहेर जनता र जनप्रतिनिधिबीचको सम्बन्धलाई थप सुदृढ बनाउनु स्वकीय सचिवको मुख्य दायित्व हो।"
त्यस्तै, सचेतक प्रकाशचन्द्र परियारले स्वकीय सचिवहरूले निर्वाह गर्नुपर्ने न्यूनतम जिम्मेवारी र कार्यसम्पादनका विविध व्यावहारिक पक्षहरूमा प्रशिक्षण दिनुभएको थियो।
उहाँले दैनिक कार्य सञ्चालन, सूचना व्यवस्थापन र जनसम्पर्कलाई चुस्त बनाउने तरिकाहरूबारे सहभागीहरूलाई अभ्यस्त गराउनुभयो।
अर्का सचेतक क्रान्ति शिखा धितालले स्वकीय सचिवहरूको आचरण, अनुशासन, गोपनीयता र सार्वजनिक छविबारे सहजीकरण गर्नुभएको थियो। उहाँले कार्यसम्पादनका क्रममा देखिने चुनौती र सहभागी स्वकीय सचिवहरूले राखेका विभिन्न जिज्ञासाहरूको स्पष्ट पार्नुभएको थियो।
रास्वपा संसदीय दलको आयोजनामा सम्पन्न उक्त कार्यक्रमले सांसदहरूका स्वकीय सचिवहरूको कार्यक्षमता वृद्धि हुनुका साथै दलको संसदीय गतिविधिलाई अझ व्यवस्थित र नतिजामुखी बनाउन मद्दत पुग्ने विश्वास लिइएको छ।