सोमवार, आश्विन १२ गते २०८३

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट बाहिरिए चोलेन्द्र

आइतवार , आश्विन ११, २०८३

काठमाडौं । मध्यरात प्रहरीद्वारा नियन्त्रणमा लिइएका पूर्वप्रधानन्यायाधीश चोलेन्द्रसमशेर राणा केही क्षणअघि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट बाहिरिएका छन् ।

स्रोतका अनुसार राति उनलाई पक्राउ गर्ने प्रहरी कमाण्डरले आफ्नै गाडीमा राखेर घर पुर्‍याउँदै छन् ।

राणालाई पक्राउ गर्न अपराध अनुसन्धान कार्यालय प्रमुख एसएसपी सन्तोष खड्का नेतृत्वको टोली महाराजगञ्जस्थित उनको घरमा पुगेको थियो । अहिले उनै एसएसपी खड्काले आफ्नै गाडीमा राखेर राणालाई घर पुर्‍याउँदैछन् ।

राणालाई भेट्न गएको राष्ट्रिय मानव अधिकार आयोगको टोलीसँग प्रहरीले भेट्न दिएको थिएन ।

टेकुस्थित अपराध अनुसन्धान कार्यालय पुगेका पत्रकारहरूलाई छल्दै एसएसपी खड्काले पूर्वप्रधानन्यायाधीश राणालाई त्यहाँबाट निकालेका छन् । उनलाई परिवारका एक सदस्यको जिम्मामा पठाइएको हो ।

प्रधानमन्त्री वालेन्द्र शाहको सचिवालयको ठाडो आदेशमा राणालाई पक्राउ गरिएको बताइएको छ । उनलाई पक्राउ गर्नुको कारण नै नखुलाई प्रहरीले छाडेको हो । यद्यपि एसएसपी खड्काले पक्राउ नै नगरिएको भन्दै असुरक्षा रहेकाले सुरक्षा दिइएको दाबी गरेका थिए ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार