सोमवार, आश्विन १२ गते २०८३

साम्पाङलाई जेठी श्रीमतीमाथि घरेलु हिंसा गरेको आरोप

आइतवार , आश्विन ११, २०८३

काठमाडौँ । श्रम-संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले जेठी पत्नी दिलमाया राईलाई कुटपिट गरी घरबाट निकाला गरेको भन्दै सुनसरी जिल्लामा परेको मुद्दाको फैसला अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । 

दिलमायाले २०७३ असोज ६ गते सुनसरी जिल्ला अदालतमा मुद्दा दायर गरेकी थिइन् । उनको फिराद पत्रमा न्यायाधीश मणिराम न्यौपानेको इजलासले २०७६ असार १२ गते फैसला गरेको थियो ।

फैसलामा साम्पाङका दाजुभाइसहित सगोल सम्पत्ति पाँच अंशियार कायम गरी एक अंश जेठी पत्नी दिलमाया राईलाई छुटाउनुपर्ने ठहर छ । अदालतद्वारा सम्पत्ति पाँच भाग लगाएर साम्पाङको भागमा पर्ने एक हिस्सालाई उनी, पत्नी दिलमाया र छोरी एलिसाबीच ३ भाग लगाएर दिलमायालाई त्यसको एक भाग अंश दिनुपर्ने फैसलामा उल्लेख छ ।


अदालतले नाता, पुस्तावली तथा पेस भएका प्रमाणहरू अध्ययन गरी हर्क, उनका दाजुहरू आशय कुमार राई र एकराज राई, आमा जसमाया राई, धनकुमारी राई गरी ५ अंशियार कायम गरेको हो ।

दिलमायाको फिराद पत्रमा वैवाहिक जीवन सुरु भएदेखि नै पति हर्कराजसँग झैँझगडा र कुटपिट गर्ने गरेको दावी गरेकी छन् । हर्कराजले परस्त्रीसँग नाजायज सम्बन्ध राखेको आरोप समेत फिराद पत्रमा लगाइएको थियो । हर्क वैदेशिक रोजगारीमा गएको र विदेशबाट फर्किएर पनि आफूमाथि हिंसा गरेको उनको आरोप छ ।

फिरादपत्रमा प्रहरीमा रिपोर्ट गरेपछि हर्कराजले ‘के गर्नु पर्छ गर, कहाँ जानु पर्छ जा, तँलाई घरमा बस्न दिन्न, खान लाउन पनि दिन्न’ भन्दै कुटपिट गरी घरबाट निकाला गरेको उल्लेख छ ।

दिलमाया हाल वैदेशिक रोजगारीमा गएकी छन् । लामो समय उनी दुबई बसेको र अहिले इजरायल पुगेको बताइन्छ । उनकी छोरी भने धरानमा बस्दै आएकी छन् ।

सम्पाङले मानिसको आ-आफ्नै विगत हुने भन्दै जेठी श्रीमतीलाई आफूले घरेलु हिंसा नगरेको बताएका छन् । सामाजिक सञ्जालमा अहिले भाइरल भएको अदालतको फैसला र जेठी श्रीमती दिलमाया राईले लगाएको आरोप सबै मिथ्या भएको उनको दाबी छ ।

 

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार