सोमवार, आश्विन ५ गते २०८३

पत्रकारहरूलाई पत्रकारिताको मर्यादा र अभ्यासलाई ध्यान दिन ओलीको आग्रह

आइतवार , आश्विन ४, २०८३

काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पत्रकारिताको मर्यादा र अभ्यासलाई ध्यान दिन पत्रकारहरूलाई आग्रह गरेका छन्।

आइतबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा एमाले निर्वाचन समीक्षा तथा पुनर्गठन कार्यदलको बैठकपछि बाहिरिने क्रममा कुराकानी गर्दै अध्यक्ष ओलीले प्रश्न सोध्नुअघि अनुमति लिनुपर्ने र प्रकाशित गर्नुअघि पनि सम्बन्धित व्यक्तिलाई जानकारी गराउनुपर्ने बताए।

अन्तर्राष्ट्रिय पत्रकारिताको अभ्यासमा पत्रकारले प्रश्न सोध्नुअघि सम्बन्धित व्यक्तिसँग प्रश्न गर्न मिल्छ कि मिल्दैन भनेर सोध्ने र अन्तर्वार्ता वा भनाइ प्रकाशित गर्नुअघि समेत त्यसबारे जानकारी गराउने अभ्यास रहेको उनको भनाइ थियो।

‘दुनियाँभरि पत्रकारिताको के नियम हुन्छ भने तपाईंसँग प्रश्न सोध्न सकिन्छ भनेर अगाडि सोधिन्छ। प्रश्न सोधेपछि त्यसलाई प्रकाशित गर्नुभन्दा अगाडि तपाईंले भन्नुभएको कुरा हामी प्रकाशित गर्दैछौँ, गरौँ?भनेर सोध्छ। तपाईंहरू ल्याएर थुतुनो घोचेर, मुखमा घोचेर त्यस्तो नगर्नुहोस्,’ उनले भने।

उनले अनुमति नलिई माइक अगाडि ल्याएर प्रश्न नगर्न आग्रह गरेका थिए।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार