सोमवार, आश्विन ५ गते २०८३

अर्थमन्त्री वाग्ले कूटनीतिक र द्विपक्षीय भेटघाटमा सहभागी हुँदै

शुक्रवार , आश्विन २, २०८३


काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भारत भ्रमणको दोस्रो दिन आज महत्त्वपूर्ण कूटनीतिक र द्विपक्षीय भेटघाट गर्दै छन् ।

तीनदिने भ्रमणका लागि उनी बिहीबार भारत प्रस्थान गरेका थिए । बिहीबार नै उनले भारतीय समकक्षी निर्मला सीतारमणसँग द्विपक्षीय भेटघाट गरेका थिए । भ्रमणको दोस्रो दिन अर्थमन्त्री डा. वाग्ले  शुक्रबार विभिन्न कार्यक्रममा सहभागी हुँदैछन् ।

आज बिहान ९ बजे उनी पूर्वविदेशसचिव श्याम शरणले आयोजना गर्ने उच्चस्तरीय कूटनीतिक संवाद कार्यक्रममा प्रमुख अतिथिका रूपमा सहभागी हुँदैछन् ।


इन्डिया इन्टरनेसनल सेन्टरमा आयोजना हुने उच्चस्तरीय कूटनीतिक संवादमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले प्रमुख अतिथिका रूपमा सहभागी भएर आफ्नो विचार राख्नेछन् ।

आजै, अर्थमन्त्री डा. वाग्लेले भारतीय विदेशमन्त्री डा. एस. जयशङ्करसँग भेटवार्ता गर्ने कार्यक्रम छ । भेटवार्ताको समय साँझ ५ बजेका लागि निर्धारण गरिएको छ ।

आजै अर्थमन्त्री डा. वाग्ले भारत व्यापार संवर्धन सङ्गठनका अध्यक्ष जावेद अशरफले आयोजना गर्ने बृहत् भेटघाट कार्यक्रममा सहभागी हुँदै छन् । भारत मण्डपममा आयोजना हुने कार्यक्रममा नेपाल-भारत आर्थिक सहकार्यका विभिन्न आयामबारे बृहत् र उच्चस्तरीय छलफल हुनेछ ।

अर्थमन्त्रीको उच्चस्तरीय तीनदिने भारत भ्रमणमा अर्थ मन्त्रालयका सहसचिव अमृत लम्साल, परराष्ट्र मन्त्रालयका सहसचिव गेहेन्द्र राजभण्डारी, नेपाली दूतावास नयाँ दिल्लीका उपनियोग प्रमुख डा. सुरेन्द्र थापा, इकोनोमिक मिनिस्टर तारानाथ अधिकारी र अर्थमन्त्रीका निजी उपसचिव कञ्चन बस्नेत सहभागी छन् ।

भ्रमणको तेस्रो दिन शनिबार निजी क्षेत्र र अन्य उच्चस्तरीय भेटघाट गरेर अर्थमन्त्री नेतृत्वको प्रतिनिधि मण्डल नेपाल फर्कने कार्यक्रम छ ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार