बिहिवार, कार्तिक १३ गते २०८३

चक्रवाती आँधी ‘अर्नब’ को सम्भावित प्रभावलाई मध्यनजर गर्दै हवाई सुरक्षा सतर्कता जारी

बिहिवार , कार्तिक १३, २०८३


काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण(क्यान)ले शक्तिशाली चक्रवाती आँधी ‘अर्नब’ को सम्भावित प्रभावको क्षति कम गर्न हवाई सुरक्षा सतर्कता अपनाउन आग्रह गरेको छ ।

भारतको आन्ध्र प्रदेश तथा विशाखापट्टनम आसपास तटीय क्षेत्रमा प्रवेश गर्ने अनुमान गरिएको अर्नब नेपालमा प्रवेश गर्न सक्ने भएकाले क्यानले सतर्कता अपनाउन आग्रह गरेको हो ।


प्राधिकरणले आज सुरक्षा परिपत्र जारी गर्दै हवाई सेवा प्रदायक, विमानस्थल सञ्चालक, वायुसेवा सञ्चालक तथा सम्बन्धित सरोकारवालालाई आवश्यक सतर्कता अपनाउन परिपत्र गरेको हो । परिपत्रअनुसार उक्त मौसमी प्रणालीका कारण नेपालमा मध्यमदेखि भारी वर्षा, चट्याङसहितको हुरीबतास, तीव्र हावाहुरी तथा हिमाली र उच्च पहाडी क्षेत्रमा हिमपात हुन सक्ने सम्भावना छ । यसको प्रभाव विशेषगरी कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा पर्न सक्ने तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका केही भागमा समेत असर देखिनसक्ने जल तथा मौसम विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

यही कात्तिक १२ गतेदेखि कात्तिक १४ गतेसम्म भारी वर्षा, तीव्र हावाहुरी र भिजिविलिटी कम हुनसक्ने भएकाले हवाई उडान तथा अवतरण, विमानस्थलको सञ्चालन र धावनमार्गको सतहमा समस्या उत्पन्न हुन सक्ने हुँदा सतर्कता अपनाउन प्राधिकरणले आग्रह गरेको हो ।

प्राधिकरणले हवाई ट्राफिक व्यवस्थापन गर्ने निकायलाई प्रतिकूल मौसममा उडान व्यवस्थापनको उचित योजना बनाउन, आवश्यकताअनुसार अन्य हवाई सेवा एकाइसँग समन्वय गर्न तथा मौसमका कारण निर्धारित सञ्चालन सीमाभन्दा अवस्था खराब भएमा उडानको मार्ग परिवर्तन, होल्डिङ र अन्य आवश्यक व्यवस्थापन गर्न निर्देशन दिएको छ ।

त्यस्तै, भारी वर्षा वा प्रतिकूल मौसमका कारण विमानको उडानमा असर पर्न सक्ने भएकाले राडार नियन्त्रकलाई आवश्यक दूरी कायम गर्न भनिएको छ । हावाको गति तथा दिशामा अचानक परिवर्तन हुने अवस्था ९विन्ड सियर०, तीव्र वायुमण्डलीय अस्थिरता र चट्याङयुक्त हुरीबताससम्बन्धी जानकारी उडान भर्ने तथा अवतरण गर्ने विमानलाई तत्काल उपलब्ध गराउन पनि परिपत्रमा उल्लेख छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार