विराटनगर । सुनसरीको देवानगन्ज गाउँपालिका–१ मध्यहर्षाहीमा शनिबार साँझ दुई समूहको विवादमा घाइते भएका युवकको शरीरबाट गोली निकालिएको छ।
मध्यहषार्हीमा ८–९ जनाको समूहले गोली प्रहार गर्दा स्थानीय २४ वर्षीय निरजकुमार यादव घाइते भएका थिए । घटना लगतै उनलाई नोबेल मेडिकल कलेज विराटनगरमा भर्ना गरिएको थियो । आइतबार बिहान शल्यक्रिया गरेर उनको शरीरबाट गोली निकालिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक चन्द्र खड्काले जानकारी दिए ।
उनका अनुसार शरीरबाट निकालिएको गोली कटुवा पेस्तोलको जस्तो देखिन्छ । तर, गोलीको परीक्षणपछि मात्रै कुन हतियारबाट प्रहार भएको भन्ने खुल्नेछ ।
यादवको शरीरको पछाडि कम्मरमुनिको दायाँ भागमा गोली लागेको थियो। हतियार र गोलीको खोका नभेटिएका कारण प्रहरीले शल्यक्रियापछि मात्रै गोली लागेको हो वा अन्य कुनै हतियार प्रयोग भएको हो भन्ने विषय खुल्ने बताएको थियो । शल्यक्रिया गरी चिकित्सकको टोलीले गोली निकालेको प्रहरीले जनाएको छ ।