सोमवार, आश्विन ५ गते २०८३

दुई महिनामा दुई खर्ब बजेट खर्च

बिहिवार , आश्विन १, २०८३

काठमाडौं । चालु आर्थिक वर्ष २०८३\८४ को शुरूआती दुई महिनामा सरकारले करिब दुई खर्ब रुपैयाँ बजेट खर्च गरेको छ ।

महालेखा नियन्त्रक कार्यालयका अनुसार भदौ मसान्तसम्ममा सरकारको कुल खर्च एक खर्ब ९९ अर्ब ८३ करोड ७२ लाख रुपैयाँ बराबर छ । जुन वार्षिक लक्ष्यको ९.४१ प्रतिशत हुन आउँछ ।

कार्यालयका अनुसार सरकारले चालु शीर्षकमा हालसम्म ९.६ प्रतिशत बजेट खर्च गरेको हो । यो शीर्षकमा चालु आर्थिक वर्षका लागि १२ खर्ब ७० अर्ब ५८ करोड ९० लाख रुपैयाँ बजेट विनियोजन भएकोमा भदौ मसान्तसम्ममा एक खर्ब २२ अर्ब तीन करोड ५४ लाख रुपैयाँ खर्च भएको हो ।

त्यस्तै, पुँजीगत शीर्षकमा चार खर्ब ३१ अर्ब १० करोड ६३ लाख रुपैयाँ बजेट विनियोजन भएकोमा हालसम्म वार्षिक लक्ष्यको १।७८ प्रतिशत अर्थात् सात अर्ब ६६ करोड ४८ लाख रुपैयाँ मात्रै खर्च भएको कार्यालयको तथ्यांकबाट देखिन्छ ।
 वित्तीय व्यवस्था शीर्षकको हालसम्मको बजेट खर्च १६.५९ प्रतिशत छ । यो शीर्षकमा चालु आर्थिक वर्षका लागि चार खर्ब २२ अर्ब ६४ करोड ९१ लाख रुपैयाँ विनियोजन भएकोमा भदौ मसान्तसम्ममा ७० अर्ब १३ करोड ७० लाख रुपैयाँ बराबर खर्च भएको देखिएको हो ।

यस अवधिसम्ममा सरकारको खर्चको तुलनामा आम्दानी कम छ । भदौ मसान्तसम्मको कुल राजस्व संकलन वार्षिक लक्ष्यको ११।५८ प्रतिशत अर्थात् एक खर्ब ९० अर्ब १० करोड ७९ लाख रुपैयाँ छ ।

पछिल्ला दुई महिनामा मात्रै सरकारको आम्दानी भन्दा खर्च करिब नौ अर्ब ७२ करोड रुपैयाँले बढी रहेको छ । कर राजश्वतर्फ चालु आर्थिक वर्षका लागि कुल १४ खर्ब तीन अर्ब ३१ करोड ८३ लाख रुपैयाँ उठाउने सरकारको लक्ष्य रहेकोमा भदौ मसान्तसम्ममा वार्षिक लक्ष्यको १२.२९ प्रतिशत अर्थात् एक खर्ब ७२ अर्ब ४२ करोड ९७ लाख रुपैयाँ संकलन भएको छ ।

त्यस्तै, गैरकर राजश्वतर्फ एक खर्ब ७७ अर्ब रुपैयाँ उठाउने सरकारको लक्ष्य रहेकोमा हालसम्म ६.९ प्रतिशत अर्थात् १० अर्ब ७७ करोड ६९ लाख रुपैयाँ उठेको छ ।

चालु आर्थिक वर्षका लागि ६१ अर्ब ७४ करोड ५४ लाख रुपैयाँ प्रत्यक्ष वैदेशिक अनुदान लिने सरकारको लक्ष्य रहेकोमा भदौ मसान्तसम्ममा ८.९६ प्रतिशत अर्थात् पाँच अर्ब ५३ करोड रुपैयाँ बराबर भित्रिएको कार्यालयले जनाएको छ ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार