सोमवार, आश्विन ५ गते २०८३

सुस्ताएको घरजग्गा बजारमा देखियो सुधार, कारोबार ८७ प्रतिशत बढेर ७ खर्ब २० अर्ब नाघ्यो

मंगलवार , भाद्र ३०, २०८३

काठमाडौँ । लामो समयदेखि सुस्त रहेको घरजग्गा कारोबार आर्थिक वर्ष २०८२\८३ मा उल्लेख्य रूपमा चलायमान भएको नेपाल राष्ट्र बैंकले जनाएको छ।

वर्षभरि घरजग्गाको कुल कारोबार ७ खर्ब २० अर्ब ८६ करोड रुपैयाँ पुगेको छ। जुन अघिल्लो आर्थिक वर्षको ३ खर्ब ८६ अर्ब १५ करोड रुपैयाँको तुलनामा करिब ८७ प्रतिशत बढी हो।

नेपाल राष्ट्र बैंकले भूमि व्यवस्थापन तथा अभिलेख विभाग र बैंकबाट संकलित तथ्यांकका आधारमा सार्वजनिक गरेको विवरणअनुसार आर्थिक वर्ष २०८२\८३ मा घरजग्गा कारोबारको संख्या ४.७४ प्रतिशतले बढेको छ। अघिल्लो आर्थिक वर्षमा कारोबार संख्या १.८४ प्रतिशतले घटेको थियो।

घरजग्गा बजारमा आएको सुधार आर्थिक वर्षको अन्तिम त्रैमासमा झन् तीव्र देखिएको छ। चौथो त्रैमासमा मात्रै घरजग्गाको कुल कारोबार २ खर्ब ७५ अर्ब ७३ करोड रुपैयाँ पुगेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा यस्तो कारोबार १ खर्ब २७ अर्ब ६१ करोड रुपैयाँमा सीमित थियो। अर्थात् एक वर्षमै चौथो त्रैमासको कारोबार मूल्य दोब्बरभन्दा बढी भएको छ।

चौथो त्रैमासमा घरजग्गा कारोबारको संख्या अघिल्लो वर्षको सोही अवधिको तुलनामा १२.२५ प्रतिशतले बढेको छ। अघिल्लो आर्थिक वर्षको चौथो त्रैमासमा कारोबार संख्या १४.६५ प्रतिशतले बढेको थियो।

कारोबारको प्रकृतिलाई हेर्दा लिखत पारित अन्तर्गतको कारोबार संख्या १२.२८ प्रतिशतले बढेको छ। त्यसमा पनि राजीनामा कारोबारमा उल्लेख्य वृद्धि देखिएको छ। समीक्षा अवधिमा राजीनामा कारोबार संख्या २२.८८ प्रतिशतले बढेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा राजीनामा कारोबार ८.१५ प्रतिशत मात्रै बढेको थियो।

घरजग्गाको कारोबार संख्या मात्रै होइन, कारोबार भएको क्षेत्रफलसमेत बढेको छ। चौथो त्रैमासमा कारोबार भएको कुल क्षेत्रफल अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १५.४१ प्रतिशतले बढेको छ। अघिल्लो वर्ष यस्तो क्षेत्रफल २.९८ प्रतिशतले घटेको थियो।

घरजग्गा बजार चलायमान भएसँगै सरकारको राजस्वमा समेत त्यसको प्रत्यक्ष प्रभाव परेको छ। समीक्षा अवधिमा घरजग्गा कारोबारबाट संकलित राजस्व ४८.२६ प्रतिशतले बढेको छ। त्यस्तै, घरजग्गा कारोबारबाट उठेको पुँजीगत लाभकर ६३.२२ प्रतिशतले बढेको छ। अघिल्लो आर्थिक वर्षको चौथो त्रैमासमा राजस्व २३.४५ प्रतिशत र पुँजीगत लाभकर २९.९८ प्रतिशतले बढेको थियो।

घरजग्गा बजारमा सुधार आउँदा बैंकिङ क्षेत्रबाट प्रवाह हुने कर्जा पनि बढेको छ। आवासीय घरजग्गा कर्जासहित घरजग्गा क्षेत्रमा प्रवाह भएको बैंक कर्जा समीक्षा अवधिमा ६.९३ प्रतिशतले बढेको छ। अघिल्लो आर्थिक वर्षको चौथो त्रैमासमा यस्तो कर्जा ५.८६ प्रतिशतले बढेको थियो।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार