बिहिवार, भाद्र ४ गते २०८३

इरानविरूद्ध इतिहासकै भयानक आर्थिक युद्ध सुरू गर्ने ट्रम्पको घोषणा

बिहिवार , भाद्र ४, २०८३

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरूद्ध इतिहासकै भयानक आर्थिक युद्धको घोषणा गरेका छन्।

बुधबार ट्रुथ सोसल अकाउन्टमा पोस्ट लेखेर ट्रम्पले अमेरिकासँग सम्झौता गर्ने ठूलो अवसर इरानले गुमाएको भन्दै ऊविरूद्ध अहिलेसम्मकै ठूलो आर्थिक युद्ध सुरू गर्ने घोषणा गरेका हुन्।

इरानलाई कुनै सम्झौता गर्ने योभन्दा ठूलो अवसर कसैले दिएको थिएन, जुन मैले दिएको थिएँ। तर दुःखको कुरा, उनीहरूले यो अवसर गुमाए, ट्रम्पले लेखेका छन्, त्यसैले इरानविरूद्ध आज म कुनै पनि देशविरुद्ध इतिहासकै सबैभन्दा कडा र ठूलो आर्थिक कारबाहीको घोषणा गर्दैछु।

उनले इरानविरूद्धको कारबाही अहिलेसम्म कहिल्यै नदेखिएको स्तरको आर्थिक युद्ध र नाकाबन्दी हुने बताएका छन्।इरानको नौसेना र वायुसेना धराशयी भइसकेको दाबी गर्दै ट्रम्पले सैन्य हतियार कारखानाहरू पनि भग्नावशेषमा परिणत भइसकेको बताए। इरानी मुद्रा पनि काम नलाग्ने स्थितिमा पुगेको बताउँदै समग्रमा देश नै नाजुक स्थितिमा रहेको ट्रम्पले बताएका छन्।

उनले इरानमाथि आर्थिक युद्धको घोषणासँगै कुनै देशले उसलाई सहयोग गरे ती देशहरूले पनि कारबाही भोग्नुपर्ने चेतावनी दिए।

आज म यो पनि घोषणा गर्छु कि—जुनसुकै देशका बैंक, व्यापार व्यवसाय, विमानस्थल वा सरकारी निकायले इरानलाई कुनै पनि किसिमको मद्दत वा राहत दिन्छन् भने उनीहरू आफैंले ठूलो आर्थिक नोक्सानी र परिणाम भोग्नुपर्नेछ, ट्रम्पले भनेका छन्।

तेलको तस्करी, पैसाको लेनदेन, हुन्डी साटोही, पानीजहाज दर्ता, वा नक्कली कम्पनीहरू तत्काल बन्द गर्न ट्रम्पले चेतावनी दिएका छन्।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार