काठमाडौं । बंगालको खाडीमा विकसित भइरहेको न्यूनचापीय प्रणालीका कारण यही ८-१२ असोजसम्म नेपालमा वर्षाको गतिविधि बढ्न सक्ने केही मौसमविद्हरूले पूर्वानुमान गरेका छन् । केही स्थानमा अत्यधिक वर्षा हुन सक्ने भन्दै उनीहरूले पूर्वतयारी र सतर्कतामा जोड दिएका छन् ।
त्रिभुवन विश्वविद्यालयका जल तथा मौसमविद् डा. विनोद पोखरेलले विभिन्न पूर्वानुमान मोडेलको अध्ययनबाट ८-१२ असोजसम्म देशभर वर्षा हुने सम्भावना देखिएको बताएका छन् ।
उनले केही मोडेलले उक्त अवधिमा ४०० मिलिमिटरभन्दा बढी र कतिपय अवस्थामा ७४१ मिलिमिटरसम्म वर्षा हुन सक्ने देखाएको सामाजिक सञ्जालमा उल्लेख गरेका छन् । यद्यपि यस्तो वर्षा देशभर समान रूपमा नभई निश्चित स्थानमा बढी केन्द्रित हुन सक्ने उनको अनुमान छ ।
‘धेरैवटा फोरकास्ट मोडेल हेरेर मात्र यो पूर्वानुमान सार्वजनिक गरेको हुँ,’ पोखरेलले लेखेका छन्, ‘डर देखाउन होइन, यो सबै तयारी चाँडो गर्न मद्दत होस् भनेर राखेको हो ।’
पोखरेलका अनुसार भारतको उत्तरपश्चिमी क्षेत्रमा मनसुन बाहिरिन थालेपछि त्यहाँबाट आउने सुक्खा हावाले बंगालको खाडीबाट आउने न्यूनचापीय प्रणालीको गतिलाई प्रभावित गर्न सक्छ । उनका अनुसार त्यसको सम्भावित प्रभाव नेपालतर्फ पर्न सक्ने भएकाले नेपालका केही क्षेत्रमा ठूलो वर्षा हुन सक्ने जोखिम छ ।