काठमाडौं । कांग्रेसको देउवा समूहबाट टाढिँदै र संस्थापनसँग नजिकिँदै गएका नेता पूर्णबहादुर खड्का अहिले फेरि देउवा पक्षतिरै ढल्किएका छन् । उनको पछिल्लो अभिव्यक्तिले फेरि देउवा पक्षतिरै ढल्किएको छनक मिल्छ ।
पछिल्लो समयमा खड्का देउवा पक्षले गरिररहेका समानान्तर गतिविधिहरूबाट टाढा भएका थिए । उनले पार्टी फुटाउने वा समानान्तर महाधिवेशनको पक्षमा आफू नरहेको बताए । खड्काले अघि सारेको ८ बुँदे माग संस्थापन पक्षले सम्बोधन गरेको भन्दै उनकै नजिकका दर्जनौँ नेता सानेपातर्फ लागे र १५औँ महाधिवेशनमा भाग लिने निर्णय गरे । खड्का आफैं भने रोकिएका छन् ।
आज सामाजिक सञ्जालमा स्टाटस लेख्दै उनले गगन नेतृत्वको कांग्रेस महाधिवेशनमा कुनै हालतमा सहभागी नहुने घोषणा गरेका छन् । सर्वोच्च अदालतमा मुद्दा विचाराधीन रहेको अवस्थामा थापा नेतृत्वको महाधिवेशनमा भाग लिनु ‘चरम अनैतिक’ हुने उनको तर्क छ ।
खड्काले नेपाली कांग्रेस इतिहासकै विषम परिस्थितिमा र विभाजनको अन्तिम डिलमा पुगेको दाबी समेत गरेका छन् । महाधिवेशन नरोकिएपछि उत्पन्न परिस्थितिले पार्टीलाई फुटतर्फ धकेलेको उनको विश्लेषण छ ।
उनले लेखेका छन्, ‘अब यदि कुनै चमत्कार भएन भने नेपाली कांग्रेस पार्टी विभाजनको अन्तिम डिलमा पुगेको अवस्था छ १ तैपनि हामी सम्भावित पार्टी विभाजनलाई रोक्न अन्तिम प्रयास गरिरहेका छौँ ।’
मुलुकको सबैभन्दा पुरानो लोकतान्त्रिक दल विभाजित भएमा कांग्रेसलाई मात्र नभई समग्र लोकतन्त्रमै भयानक बहुआयामिक दुष्प्रभाव पर्न सक्ने भन्दै उनले चिन्ता व्यक्त गरेका छन् ।