सोमवार, आश्विन ५ गते २०८३

साइबर बुलिङ गर्नेलाई तत्काल पार्टीबाट निश्कासन गरिनेछ: रवि लामिछाने

बुधवार , भाद्र २४, २०८३

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सामाजिक सञ्जालमा तुच्छ टिप्पणी र साइबर बुलिङ गर्नेहरूलाई पार्टीबाट निश्कासन गर्ने बताएका छन्। 

बुधबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सभापति लामिछानेले विपद् रुदै गरेका नागरिकलाई होच्याउने अन्ध समर्थक नचाहिएको उनको भनाइ थियो। नागरिकको पक्षमा उभिने सदस्य चाहिएको बताए। 

‘राष्ट्रिय स्वतन्त्र पार्टीलाई विपद्मा रुदै गरेका नागरिकलाई होच्याउने कुनै अन्धसमर्थक चाहिएको छैन। हामीलाई त शोक र पीडामा परेका भुँइ मान्छेको पक्षमा उभिने र उनीहरूको आँशु पुछ्ने सदस्यहरू चाहिएको छ,’ लामिछानेले भने। 

रास्वपाका नेता तथा कार्यकर्तालाई साइबर बुलिङ गर्ने र होच्याउने छूट नभएको लामिछानेले बताए। त्यस्ता सदस्यलाई तत्काल पार्टीबाट निश्कासन गर्ने उनले चेतावनी दिए। 

‘नागरिकको चित्कार र आक्रोसलाई गलत ब्याख्या गर्ने, सामाजिक सञ्जालको आडमा ओठे जवाफ फर्काउने र साइबर बुलिङ गर्ने छूट कसैलाई छैन,’ लामिछाने भने, ‘यदि रास्वपाको कुनै पनि तहतको सदस्य, पदाधिकारी विपद्मा परेका नागरिकमाथि तुच्छ टिप्पणी गर्ने वा साइबर बुलिङ गर्ने काममा संलग्न भएको पाइयो भने त्यस्ता व्यक्तिलाई साधारण सदस्य नरहने गरी तत्काल पार्टीबाट निष्काशन गरिनेछ।’

विपद्मा परेका नागरिकलाई होच्याउने व्यक्तिका लागि रास्वपामा कुनै स्थान नरहेको उनले बताए। ‘विपद्मा परेका आफ्ना नागरिकको चित्कार सुन्न नसक्ने र उनीहरूको घाउमा नुनचुक छर्कने हृदयविहीनहरूका लागि रास्वपामा कुनै स्थान छैन,’ उनले भने। 

त्यस्ता व्यक्तिलाई कारबाही गर्न उनले सरकारलाई आग्रह गरे। ‘सामाजिक सञ्जाल र चोक चौतारोमा तुच्छ टिप्पणी र कटाक्ष गर्ने कार्य आजै र अहिले बन्द गरौं,’ उनले सरकारलाई भने, ‘त्यसमा निर्मम विज्ञप्ति मात्रै निकाल्ने होइन, नागरिकले महसूस गर्ने गरी देखाउने हो, देखाउनु होला’

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार