काठमाडौँ । कोशी प्रदेशमा पहिलो पटक २०७४ फागुन २ गते सरकार गठन यताका साढे आठ वर्षमा मुख्यमन्त्री परिवर्तन र सरकार गठन- पुनर्गठनको शृंखला निरन्तर प्रक्रिया जस्तो बन्न पुगेको छ।
प्रदेश सभाको दोस्रो कार्यकाल (२०७९) पछि त यो शृंखला झन् तीव्र बन्यो। सरकार टिकाउन, गिराउन र नयाँ समीकरण मिलाउने खेलमा प्रदेशको ठूलो राजनीतिक तथा आर्थिक ऊर्जा खर्च भइरहेको छ।
कोशी प्रदेशमा नौ पटक मुख्यमन्त्री फेरबदल भइसकेका छन्। यस बीचमा ६ जना मुख्यमन्त्री बने। सबैभन्दा बढी तीन पटक एमाले नेता हिक्मत कार्कीले प्रदेश सरकारको नेतृत्व गरे। नेपाली कांग्रेसका नेता उद्धव थापा दुई पटक मुख्यमन्त्री बने। त्यस्तै, केदार कार्की, शेरधन राई, भीम आचार्य र राजेन्द्रकुमार राई एक–एक पटक मुख्यमन्त्री बनेका थिए।
२०७४ को निर्वाचनपछि एमालेका शेरधन राई पहिलो मुख्यमन्त्री बनेका थिए। एमाले पार्टी विभाजनपछि भीम आचार्य करिब दुई महिना मुख्यमन्त्री बने। त्यसपछि एकीकृत समाजवादीका राजेन्द्रकुमार राई २०७९ पुस २४ सम्म मुख्यमन्त्री रहे।
प्रदेश सभाको पहिलो कार्यकालमा तीन पटक सरकारको नेतृत्व परिवर्तन हुँदा २७ मन्त्री र ११ राज्यमन्त्री बने। बहालवाला मुख्यमन्त्री हिक्मत कार्कीले प्रदेश सरकार गठन भएयता विभिन्न मन्त्रालयको जिम्मेवारी सम्हाले। उनले ३१ पटक विभिन्न विभागीय मन्त्रालयको नेतृत्व गरे।