सोमवार, आश्विन ५ गते २०८३

समानान्तर महाधिवेशनको तयारीमा देउवा समूह

शुक्रवार , भाद्र १९, २०८३

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा समूह समानान्तर महाधिवेशनको तयारीमा जुटेको छ। चुनदेवीस्थित सम्पर्क कार्यालयमा बसेको बैठकले मंसिरमा १५ औँ महाधिवेशन गर्ने निर्णय गरेको हो।

बैठकले मंसिर २१ देखि २३ गतेसम्म महाधिवेशन गर्ने प्रस्ताव अनुमोदन गरेको हो ।असोज १५ गतेदेखि वडा अधिवेशन, २० गते पालिका, २३ गते प्रदेश र निर्वाचन क्षेत्र एवम् प्रतिनिधि सभा निर्वाचन क्षेत्र, कात्तिक १५ गते जिल्ला र मंसिर ४ गते प्रदेश अधिवेशन गर्ने निर्णय भएको छ।

बैठकले महाधिवेशन तयारी समितिका संयोजक प्रा.डा.शाशंक कोइरालालाई महाधिवेशन गर्नका लागि केन्द्रीय निर्वाचन समिति, क्रियाशील सदस्य छानबिन तथा व्यवस्थापन समिति, विधान संशोधन समिति, अनुशासन समितिहरू आवश्यक परामर्श गरी गठन गर्ने जिम्मेवारी प्रदान गर्ने निर्णय पनि गरेको छ।

नेपाल विद्यार्थी संघ, नेपाल तरुण दल, नेपाल दलित संघ, आदिवासी जनजाति महासङ्घ, नेपाल सांस्कृतिक महासङ्घ लगायत भ्रातृ तथा शुभेच्छुक संघ,संस्थाहरूको तदर्थ समितिहरू आवश्यक परामर्श गरी गठन गर्ने जिम्मेवारी पनि कोइरालालाई दिइएको छ।

जिल्ला,प्रतिनिधिसभा निर्वाचन क्षेत्र,प्रदेश सभा निर्वाचन क्षेत्र,पालिका र वडा अधिवेशन तयारी समिति गठन गर्नका लागि सम्बन्धित प्रदेशको केन्द्रीय सदस्यहरूको सिफारिसमा ७७ वटै जिल्लामा सचिवालयले केन्द्रीय प्रतिनिधिहरू पठाउने निर्णय गरेको हो।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार