बुधवार, भाद्र ३ गते २०८३

विशेष क्षमता भएका विद्यार्थीको पढाईमा प्रभावकारी कानुन र पर्याप्त लगानीको माग

सोमवार , भाद्र १, २०८३

काठमाडौं । विशेष क्षमता भएका (अपांगता) भएका बालबालिकालाई सिपमुलक शिक्षा दिएर रोजगारी बजारमा पठाउन राज्यले प्रभावकारी कानुन बनाएर प्रशस्त लगानी गर्नुपर्ने यस क्षेत्रका जानकारले बताएका छन् । 

सोमबार कीर्तिपुरमा आयोजित कार्यक्रममा बोल्दै विशेष क्षमता भएका बालबालिकाको क्षेत्रमा क्रियासिल स्वदेशी तथा कोरयाली विज्ञले यस्तो बताएका हुन् ।

कोरियाको चाङवान विश्वविद्यालय अन्तर्गत सञ्चालित लिडिङ युनिभर्सिटी प्रोजेक्ट फर इन्टरनेशनल कोअपरेसन (लुपिक) ले अन्य संस्थाको सहकार्यमा कार्यक्रमको आयोजना गरेको हो । 

कार्यक्रममा लुपिकका निर्देशक प्राडा जङ देयोङले विशेष क्षमता भएका बालबालिकाको शिक्षा तथा रोजगारको सुनिश्चितताको लागि सरकारले कडा कानुन बनाउनुपर्ने बताए । साथै, निजी, सहकारी र अन्य साँझेदार संस्थालाई पनि उक्त कानुनको दायरामा ल्याउनुपर्ने उनले बताए । 

प्रभावकारी कानुन निर्माण र प्रशस्त लगानीको लागि यस क्षेत्रमा क्रियासिल संस्थाहरुले सरकारलाइ दबाब दिनुपर्ने देयोङले बताए । अपांगता भएका बालबालिकालाई निश्चित सिप हाँसिल गरेपछि रोजगारीमा पनि प्राथमिकता दिनुपर्ने र यस व्यवस्थालाई कानुनले नै बाँध्नुपर्ने उनको भनाई छ । 

कोरियाली विज्ञका अनुसार कोरियामा रोजगारदाता कम्पनीले अपांगता भएका व्यक्तिको लागि साढे तीन प्रतिशत रोजगारीको कोटा सुनिश्चित गर्नुपर्ने व्यवस्था छ । तर पछिल्लो समय नेपालले पनि अपांगता भएका क्षेत्रका बालबालिकाको विकासमा नेपाल सरकारको तर्फबाट पछिल्लो समय प्रशंसनीय प्रयास भइरहेको देयोङले बताए ।

कार्यक्रममा कोरियाको देगु यिआराम स्पेशस स्कुलका प्राचार्य जङ ग्योङ रिउलले आफ्नो स्कुलबाट उत्पादित विद्यार्थीहरु रोजगारी बजारमा जान बिक्न सक्ने बनाएर मात्रै घर पठाइने गरेको बताए ।

उक्त स्कुलले विशेष क्षमता भएका विद्यार्थीलाई लक्षित गरेर पर्याप्त लगानी गरेको बताउँदै उनले भने,‘हामी कहाँ दुई सय दश जना विद्यार्थी पढ्छन् । तर उनीहरुलाई सहयोग गर्ने शिक्षकसहित एक सय पचास जना कर्मचारी हुनुहुन्छ ।’

2.jpg
कोरियाबाट आएका विशेष शिक्षा विषयका विज्ञ अनुभव बाँड्दै । 


सोही कार्यक्रममा कोरियाकै पोहाङ म्युङग्दो स्कुलका शिक्षक अपांगता भएका बालबालिकाको लागि प्रेमपूर्ण वातावरणमा पढाउनुपर्ने बताए । घर वा स्कुलमा अभिभावक र शिक्षकले विद्यार्थीलाई जस्तो व्यवहार गर्छन् त्यस्तै सिक्ने भन्दै उनले यस क्षेत्रका बालबालिकाको पढाईमा राज्यले प्रशस्तै लगानी गर्नुपर्ने बताए । 

यो स्कुल विशेष आवश्यकता भएका शिक्षकलाई केन्द्रित गरेर कला तथा संस्कृति विषयको पढाई भइरहेको पहिलो शैक्षिक संस्था हो । कार्यक्रममा लुपिक परियोजनाकी व्यवस्थापक किम युनयोङले  यस परियोजनामार्फत नेपालका विश्वविद्यालय तथा स्कुलहरुलाई विविध प्रकारको सहयोग गर्दै आएको बताइन् । 

विशेष आवश्यकता भएका विद्यार्थीको शिक्षाको लागि कोरियाली लगानी र अनुभव प्रशंसनीय रहेको सुनसरीको पूर्वाञ्चल ज्ञानचक्षु विद्यालयका प्रधानाध्यापक प्रमोद भण्डारीले बताए । नेपाल सरकारको तर्फबाट विशेष आवश्यकता भएका विद्यालयमा पर्याप्त लगानी नभएको उनले गुनासो गरे ।

२०३४ सालमा स्थापना भएको यस विद्यालयले दृष्टिविहिन विद्यार्थीलाई पढाउँदै आएको छ । कार्यक्रममा सहभागी राजधानी तथा मोफसलमा सञ्चालित विशेष क्षमता भएका विद्यालयका प्राचार्य तथा शिक्षकले विशेष क्षमता भएका विद्यार्थीको पठनपाठनमा लगानी गर्न सरकारलाई पटक पटक गुहार गरेपनि आवश्यकता अनुसारको लगानी नभएको गुनासो गरेका थिए । 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार