आइतवार, श्रावण २४ गते २०८३

के विश्वविद्यालय राजनीतिमुक्त शैक्षिक संस्था हो त ?

आइतवार , बैशाख ६, २०८३

काठमाडौं । संस्कृत विश्वविद्यालयका एक जना मित्रले संस्कृत विश्वविद्यालयलाई राजनीतिमुक्त गरौं भन्नुभएछ । के विश्वविद्यालय राजनीतिमुक्त शैक्षिक संस्था हो त ? मेरा विचारमा विश्वविद्यालय एउटा सानो समाज हो र समाज राजनीतिबाट कहिल्यै अलग हुन सक्दैन ।

हामीले खोजेको राजनीतिमुक्त विश्वविद्यालय भन्दा पनि ’स्वस्थ राजनीति भएको विश्वविद्यालय’ चाहिँ हो । प्राध्यापक र विद्यार्थीका बीचमा हुने विचारको आदानप्रदानमा समाजका समस्या झल्किन्छन्, जुन राजनीति नै हो । नेपालको उदाहरण लिने हो भने कुन भाषामा पढाउने वा कस्तो इतिहास पढाउने भन्ने कुरा राजनीतिक विश्लेषणकै उपज हुन् ।

विश्वविद्यालयलाई दलीय हस्तक्षेपबाट मुक्त बनाउनु जरुरी छ तर यसलाई राजनीतिक चेतना र विमर्शबाट मुक्त बनाउन सकिँदैन र बनाउनु पनि हुँदैन । 

उदाहरणका लागि संस्कृत विश्वविद्यालयलाई विकास र संवर्धन गर्ने कुरा पनि राजनीति नै हो । नेपालको सन्दर्भमा दलीय भागबन्डा, तालाबन्दी र शिक्षण संस्थालाई भोट बैंक बनाउने कार्य बन्द हुनुपर्छ । यसले प्राज्ञिक वातावरणलाई क्षति पु¥याउँछ । समाज, न्याय, अधिकार र पाठ्यक्रममा हुने बहस विश्वविद्यालयको प्राण हो । यसबाट अलग हुनु भनेको विश्वविद्यालयलाई एउटा निर्जीव ’तालिम केन्द्र’ बनाउनु मात्र हो । यो विषय राजनीतिबाहिरको विषय हुँदै होइन । 

विश्वविद्यालयको राजनीतिलाई यसरी बुझौँ ः  स्वायत्तता र लगानीः विश्वविद्यालय चल्नका लागि राज्यको कोष चाहिन्छ । जहाँ सरकारी लगानी हुन्छ, त्यहाँ नीतिगत राजनीति स्वतः प्रवेश गर्छ ।
प्राज्ञिक स्वतन्त्रताः अल्बाकले प्राज्ञिक स्वतन्त्रताको वकालत गरे पनि, विश्वविद्यालयहरू समाजको राजनीतिक र आर्थिक शक्तिभन्दा बाहिर रहन नसक्ने यथार्थलाई स्वीकार गर्छन् ।

पदाधिकारी नियुक्ति ः विकासोन्मुख देशहरूमा पदाधिकारीको नियुक्तिमा हुने राजनीतिकरणले विश्वविद्यालयको गुणस्तरमा असर त पार्छ, तर पूर्ण रूपमा राजनीतिबाट विच्छेद हुनु असम्भव जस्तै हुन्छ। यसका बारेमा उच्चशिक्षाका अध्येता हेनरी जिराउका विचार मननीय छन् । 

१. शिक्षा आफैँमा राजनीतिक प्रक्रिया हो यो कहिल्यै पनि ’तटस्थ’ हुँदैन । 
२. शिक्षकले के पढाउने, कुन पाठ्यपुस्तक छान्ने र विद्यार्थीलाई कसरी सोच्न सिकाउने भन्ने कुरा नै राजनीतिक निर्णय हो ।
३. विश्वविद्यालयको काम केवल सिप सिकाउनु मात्र होइन, समाजमा न्याय र अन्याय छुट्याउन सक्ने नागरिक तयार पार्नु हो । त्यसैले जिराउका अनुसार “राजनीतिमुक्त शिक्षा“ भन्नु नै यथास्थितिवादी राजनीतिलाई स्विकार्नु हो ।
३. कुन ज्ञानलाई ’आधिकारिक’ मान्ने र कसको इतिहासलाई प्राथमिकता दिने भन्ने कुरा शक्ति र राजनीतिसँग जोडिएको हुन्छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार