काठमाडौँ । लमजुङ जिल्लाको राइनास नगरपालिकाका तत्कालीन रोजगार संयोजक शेखरनाथ न्यौपाने र तत्कालीन प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र अधिकारीसमेत १० जना उपर भ्रष्टाचार मुद्दा दायर गरिएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले न्यौपाने र अधिकारीसमेतले प्रधानमन्त्री रोजगार कार्यक्रमको १६ लाख ७२ हजार रूपैयाँ हिनामिना गरेको आरोपमा विशेष अदालतमा आरोप पत्र दायर गरेको हो।
जसमा राइनास नगरपालिकाका तत्कालीन रोजगार संयोजक शेखरनाथ न्यौपाने, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र अधिकारी, तत्कालीन लेखापाल नवीन कुमार बराल, वडा नं. १ का तत्कालीन वडा अध्यक्ष रमेश न्यौपाने, वडा नं. ३ का तत्कालीन वडा सदस्य ओजराज पौडेल, वडा नं. ४ का तत्कालीन वडा अध्यक्ष जैमान गुरूङ, वडा नं. ५ का तत्कालीन वडा अध्यक्ष नन्द बहादुर कुमाल, वडा नं. ६ का तत्कालीन वडा अध्यक्ष रूक बहादुर तामाङ गुरूङ, वडा नं. ८ का तत्कालीन वडा अध्यक्ष कृष्ण प्रसाद लामिछाने, वडा नं.७ का तत्कालीन वडा अध्यक्ष माधव प्रसाद पराजुली रहेका छन्।
प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत राइनास नगरपालिकाका सूचीकृत आर्थिक वर्ष २०७६/०७७ प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालनका लागि श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयबाट शर्तहरूसहित रू.१६ लाख ७२ हजार रूपैयाँ सशर्त अनुदान उपलब्ध गराएकोमा तत्कालीन प्रतिवादीहरूले सरकारी सम्पत्ति हिनामिना, दुरूपयोग हानिनोक्सानी गर्ने र आफूहरूले गैरकानुनी रुपमा लाभ लिएको अख्तियारको ठहर छ।
उनीहरूले आर्थिक वर्षको अन्तिम दिन प्रचलित कानुनको बर्खिलाप हुने गरी संघीय संचितकोषमा फिर्ता गर्नुपर्ने सशर्त अनुदानस्वरूप प्राप्त सो रकम फिर्ता नगरी तत्कालीन रोजगार संयोजकले पेश्की लिई सो रकम अन्य प्रतिवादीहरूको खातामा रकम जम्मा गरी उक्त रकमबाट तोकिएको कार्यक्रम सञ्चालन नै नगरी उक्त रकम हालसम्म फर्छ्यौट नगरेको तथा उक्त पेश्की लिएको रकमको कुनै पनि काम भए गरेकोसमेत नदेखिएको अख्तियारले जनाएको छ।
साथै न्यौपानेले आफू रोजगार संयोजक पदमा बहाल रहँदा राइनास नगरपालिकाबाट २०७६ वैशाख १६ मा बुझिलिएका एक थान ल्यापटप, एक थान प्रिन्टर र एक थान क्यामेरा २०७७ कात्तिक १ देखि सो कार्यालयबाट बर्खास्त भएतापनि हालसम्म बरबुझारथ नगरेको पाइएको छ।उक्त सामानको परल मूल्य एक ६७ हजार २५६ रूपैयाँ समेत हानिनोक्सानी गरे गराएको पुष्टि भएको अख्तियारको भनाई छ।