बुधवार, आश्विन १४ गते २०८३

४ दिनपछि चल्न थाल्यो बीपी राजमार्गमा साना गाडी

मंगलवार , आश्विन १३, २०८३

काठमाडौँ । अविरल वर्षापछि गएको बाढीपहिरोको कारण चार दिनदेखि अवरुद्ध बनेको बीपी राजमार्गमा आजदेखि आंशिक रुपमा गाडी चल्न थालेका छन्। 

बाढीले बगाएका स्थानमा अस्थायी ‘डाइभर्सन’ निर्माण तथा विभिन्न खण्डका पहिरो पन्छाएसँगै मंगलबार बिहानदेखि बीपी राजमार्गमा साना सवारी चल्न थालेका डिभिजन सडक कार्यालय भक्तपुरले जनाएको छ।

रोशी क्षेत्रको चौकीडाँडामा खोलाको बहाव उच्च रहेकाले किनारमा तत्काल ‘डाइभर्सन’ बनाउन नसकिएपछि खानेपानी पम्प हाउस भएको भित्री ‘ट्रयाक’ खोलेर सवारी आवागमन सुरु गरिएको डिभिजन प्रमुख सुमन योगेशले जानकारी दिए। 

खोलाको बहाव घटेपछि चौकीडाँडामा किनारबाटै पुनः डाइभर्सन निर्माण गरिने उनले बताए।

रोशी खोलाको बाढीले चौकीडाँडा, कटुञ्जे, पिप्ले र माम्ती क्षेत्रमा अस्थायी डाइभर्सन बगाउनुका साथै दाउन्ने–कालोपुल र चारसयबेँसीमा पहिरो खसेर सडक अवरुद्ध भएको थियो। 

हाल जोखिमयुक्त स्थानमा एकतर्फी रुपमा सवारी सञ्चालन गरिएको छ भने ती स्थानमा छिट्टै दुईतर्फी नै खुलाउने गरी काम भइरहेको कार्यालयले जनाएको छ। 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार