बुधवार, आश्विन १४ गते २०८३

दुई दिन सर्‍यो कांग्रेस महाधिवेशन

मंगलवार , आश्विन १३, २०८३

काठमाडौँ । नेपाली कांग्रेसको १५औं महाधिवेशन दुई दिन सरेको छ। 

कांग्रेसले मंगलबार सूचना प्रकाशित गरी महाधिवेशन दुई दिन सारिएको जनाएको छ। कांग्रेसका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले असोज १८ गते उद्घाटन समारोह हुने जानकारी दिएका छन्। 

यसअघि कांग्रेसको महाधिवेशन असोज १६ गते उद्घाटन गर्ने तय भएको थियो। असोज १६ देखि १९ गतेसम्म काठमाडौंमा गर्ने निर्णय भएको थियो। 

कार्यवाहक मुख्य सचिव दुलालले जारी गरेको सूचनामा वर्षाका कारण तल्लो तहका अधिवेशन हुन नसक्दा महाधिवेशनको दुई दिन पछि धकेलिएको जनाइएको छ। 

‘देशमा विभिन्न स्थानमा भारी वर्षाका कारण उत्पन्न असहज परिस्थितिले गर्दा केही निर्वाचन क्षेत्रहरूमा क्षेत्रीय अधिवेशन र महाधिवेशन प्रतिनिधि चयन प्रक्रिया जारी रहेको जानकारी निर्वाचन समिति र पार्टीका तहगत कार्यसमितिबाट प्राप्त भएको छ,’ सूचनामा भनिएको छ, ‘यस परिस्थितिलाई मध्येनजर गरी १५औं महाधिवेशन उद्घाटन समारोह २०८३ असोज १८ गते २ बजे खुलामञ्चमा हुने बेहोरा यसै विज्ञप्ति मार्फत जानकारी गराइन्छ।’

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार