सोमवार, आश्विन ५ गते २०८३

मनाङका हिमतालको जोखिममा मर्स्याङ्दी नदी करिडोर

बुधवार , भाद्र ३१, २०८३

लमजुङ । मनाङका हिमतालमा देखिएको जोखिमले मर्स्याङ्दी नदी आसपासका तल्लो तटीय क्षेत्रको सुरक्षाबारे चासो बढाएको छ ।

हिमताल विस्फोटबाट अचानक ठूलो बाढी आएमा त्यसको प्रभाव मर्स्याङ्दी नदी हुँदै तल्लो तटीय क्षेत्रमा पर्न सक्ने भएकाले जोखिमको अध्ययन, नियमित अनुगमन, पूर्वसूचना र विपद् प्रतिकार्यको तयारी आवश्यक देखिएको हो ।

मनाङको नासो गाउँपालिका–२ मा रहेको डोना (थुलागी) हिमताललाई विगतदेखि नै सम्भावित जोखिमयुक्त हिमतालका रूपमा पहिचान गरिएको छ । विभिन्न अध्ययनले तालको क्षेत्रफल करिब ०।९ वर्गकिलोमिटर आसपास रहेको देखाएका छन् ।

सन् २०१७ मा गरिएको सर्वेक्षणले तालको अधिकतम गहिराइ ७६ मिटर रहेको देखाएको थियो । ती अध्ययन केही वर्षअघिका भएकाले अहिले तालको क्षेत्रफल, पानीको मात्रा, हिमनदीको अवस्था तथा ताल वरपरको भौगोलिक संरचनामा के–कस्तो परिवर्तन आएको छ भन्ने विषय पुनः अध्ययन गर्नुपर्ने आवश्यकता बढेर गएको छ । विगतमा पहिचान गरिएको जोखिम अहिले कस्तो अवस्थामा छ भन्नेबारे थप स्पष्टता आवश्यक रहेको देखाउँछ ।

नासो गाउँपालिका–२ का वडाध्यक्ष रवि गुरुङका अनुसार डोना हिमताल जोखिमयुक्त अवस्थामा रहे पनि तत्कालै केही हुने अवस्था छैन । तालको आकार विगतको तुलनामा परिवर्तन हुँदै गएको र विस्तार भइरहेको उनले बताए । ‘ताल जोखिममा छ, अहिलेसम्म केही भएको छैन । आकार पहिलाको भन्दा फरक हुँदै ठूलो भइरहेको छ,’ उनले भने ।

तालको जोखिम न्यूनीकरणका लागि गाउँपालिकाले पहल गरिरहेको भए पनि संरक्षणका लागि ठूलो बजेट आवश्यक पर्ने उनले बताए ।

प्रदेश र संघीय सरकारसँग आवश्यक सहयोगका लागि पहल भइरहेको तथा जोखिमबारे स्थानीयलाई सूचना दिने र सचेत गराउने काम भइरहेको उनको भनाइ छ । उनका अनुसार मनास्लु हिमालको फेदीमा रहेको डोना ताल प्राकृतिक सौन्दर्यका कारण पर्यटकको आकर्षणसमेत बनेको छ । विदेशी तथा आन्तरिक पर्यटक गरी वार्षिक २०० जना ताल क्षेत्रमा पुग्ने गरेको उनले बताए ।

मनाङका प्रमुख जिल्ला अधिकारी मुक्तिप्रसाद खनालले डोना हिमताल जोखिमयुक्त अवस्थामा रहेको र यसको जोखिम न्यूनीकरणका लागि थप अध्ययन तथा पहल आवश्यक रहेको बताए ।

उनका अनुसार तालमा बालुवा तथा माटो थुप्रिँदै गएकाले चिन्ताको विषय बनेको छ । ‘ताल तत्काल फुट्छ भन्न सकिँदैन, तर तत्काल फुट्दैन भन्न सकिने अवस्था पनि छैन । जुनसुकै बेला जोखिम हुनसक्छ,’ उनले भने ।

जिल्लामा विपद् प्रतिकार्यको सामान्य तयारी भए पनि ठूलो आयामको हिमताल विस्फोटजन्य बाढी आएमा त्यसलाई सामना गर्ने क्षमता सीमित रहेको उनले बताए ।

जोखिम न्यूनीकरणका लागि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा अनुरोध गरिएको र जिल्लास्तरीय बैठकबाट समेत आवश्यक पहल गर्ने निर्णय भएको उनको भनाइ छ ।

ताल फुटेमा मनाङका विभिन्न बस्ती हुँदै मर्स्याङ्दी नदीको बहाव क्षेत्रका तल्लो जिल्लासम्म प्रभाव पर्न सक्ने उनले बताए । बस्ती, सडक, जलविद्युत् आयोजना तथा अन्य भौतिक संरचनामा क्षति पुग्न सक्ने भएकाले समयमै सूचना प्रवाह गरी मानवीय क्षति रोक्नुपर्ने उनको भनाइ छ ।

यसैगरी, लालुपाते हाइड्रोपावरले डोना ताल आसपासमा जलविद्युत् आयोजना निर्माणको प्रक्रिया अघि बढाइरहेको र तालको पानी उपयोग गर्ने विषयमा अध्ययन भइरहेको प्रजिअ खनालले बताए । तालको जोखिम र त्यससँग जोडिएका संरचनालाई समेत ध्यानमा राखेर आवश्यक अध्ययन तथा सावधानी अपनाउनुपर्ने उनको भनाइ छ ।

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार