काठमाडौं । संघीय निजामती सेवासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक संसद्मा दर्ता भएको छ। मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले यो विधेयक संसद्मा पेस गर्न स्वीकृति दिने निर्णय गरेको थियो।
लामो समयदेखि प्रतीक्षामा रहेको संघीय निजामती सेवा विधेयक आज संसद्को जिम्मामा पुर्याएको मन्त्री प्रतिभा रावलले बताएकी छन्।
उनले भनेकी छन्, ‘यो विधेयकलाई गहन अध्ययन तथा व्यापक छलफलपश्चात् अन्तिम रूप दिइएको हो। यसले निजामती सेवालाई थप सक्षम, प्रभावकारी, दक्ष, उत्तरदायी र परिणाममुखी बनाउँदै कार्यसम्पादन र जवाफदेहितामा ल्याउने अपेक्षा गरिएको छ।’
साथै, संघीय शासन प्रणालीलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न महत्त्वपूर्ण आधार प्रदान गर्नुका साथै सुशासन र सार्वजनिक प्रशासन सुधारको दिशामा पनि महत्त्वपूर्ण कोसेढुङ्गा बन्ने विश्वास लिएकी छन्।
उनले भनेकी छन्, ‘यो विधेयक सार्वभौम संसद्को जिम्मामा पुगेको छ। संसद्मा हुने गहन छलफल र आवश्यक प्रक्रियापश्चात् विधेयक छिट्टै पारित भई नेपालको सार्वजनिक प्रशासनलाई अझ सक्षम, उत्तरदायी र परिणाममुखी बनाउने बलियो जग बसालोस् भन्ने अपेक्षा छ।’