काठमाडौं। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय अन्तर्गतको वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले तराईका २२ जिल्लामा सञ्चालित स्वच्छ ऊर्जा सम्बन्धी कार्यक्रमका लागि सेवा करारमा ३६ जना जनशक्ति माग गरेको छ ।
हरित जलवायु कोषको सहयोगमा सञ्चालित ‘मिटिगेटिङ जीएचजी इमिसन थ्रु मोर्डन, इफिसिएन्ट एण्ड क्लाइमेट फ्रेण्डली क्लिन कूकिङ सोलुसन्स (सीसीएस)’ कार्यक्रम कार्यान्वयनका लागि केन्द्रले ‘क्लिन कुकिङ सोलुसन मोबिलाइजर’ पदमा दरखास्त आह्वान गरेको हो ।
सूचना अनुसार कुल ३६ जना जनशक्ति मध्ये १८ जना खुला र १८ जना महिला कोटाका लागि छुट्याइएको छ । यस पदका लागि आवेदन दिन इच्छुक उम्मेदवारले मान्यता प्राप्त शिक्षण संस्थाबाट प्रवीणता प्रमाणपत्र तह वा सो सरह उत्तीर्ण गरेको हुनुपर्नेछ । साथै, नवीकरणीय ऊर्जाको क्षेत्रमा वा सामाजिक परिचालन वा व्यवसाय प्रवर्द्धनरबजारीकरणको क्षेत्रमा कम्तीमा २ वर्ष कार्य गरेको अनुभव हुनुपर्ने योग्यता तोकिएको छ । नियुक्त हुने परिचालकहरूले केन्द्रले तोकेको स्थानीय तहहरूमा रहेर कार्य गर्नुपर्नेछ ।
इच्छुक र योग्य नेपाली नागरिकले यो सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र आवश्यक कागजातहरू सहित आवेदन दिन सकिनेछ ।
आवेदकले आफ्नो कार्य अनुभव, नागरिकता र शैक्षिक योग्यताका प्रमाणपत्रको प्रतिलिपि सहित केन्द्रको कार्यालय ताहाचलमा वा इमेल ठेगाना [email protected] मार्फत निवेदन पेश गर्न सक्नेछन् ।
उम्मेदवारहरूको छनोट शैक्षिक योग्यता र अनुभवको आधारमा तयार पारिएको संक्षिप्त सूची लिखित परीक्षा र अन्तर्वार्ताको माध्यमबाट गरिने केन्द्रले जनाएको छ । लिखित परीक्षाको पाठ्यक्रम केन्द्रको आधिकारिक वेबसाइटबाट प्राप्त गर्न सकिनेछ ।
अन्तिम नतिजामा योग्यता क्रमको आधारमा करार नियुक्ति गरिने र एक वर्षभित्र मुख्य उम्मेदवारले छोडेमा वैकल्पिक सूचीमा रहेका उम्मेदवारलाई अवसर दिइने समेत सूचनामा उल्लेख छ ।