काठमाडौँ । भदौ १० गते भोटेकोशी नदी हुँदै त्रिशूलीमा उर्लिएको विनाशकारी बाढीले रसुवा, नुवाकोट, धादिङ र गोरखालगायत जिल्लामा सडक तथा पुल पूर्वाधारमा ठुलो क्षति पुर्याएको छ ।
बाढीका कारण सडक र पुल संरचनातर्फ मात्रै करिब २० अर्ब रुपैयाँ बराबरको प्रारम्भिक क्षति भएको सडक विभागले जनाएको छ ।
सडक विभागका प्रवक्ता शुभराज न्यौपानेका अनुसार बाढीका कारण सडक सञ्जालतर्फ करिब १० अर्ब र पुलतर्फ १० अर्ब गरी कुल २० अर्ब रुपैयाँ बराबरको प्रारम्भिक क्षति भएको अनुमान गरिएको छ । प्रवक्ता न्यौपानेले बाढीले पुर्याएको क्षतिको परिमाण निकै ठुलो भएकाले स्थायी पुनर्निर्माण सम्पन्न गर्न वर्षौँ लाग्ने र पुनर्निर्माण लागत साविकको भन्दा निकै बढी हुने जानकारी दिए ।
सडक विभागको स्थलगत प्राविधिक विवरण अनुसार बाढीले ४० किलोमिटरभन्दा बढी सडक क्षति पुगेको छ । यस्तै भोटेकोशी तथा त्रिशूली नदीमा रहेका ४१ वटा प्रमुख पुलमध्ये ३२ वटा पुल बाढीले पूर्ण रूपमा बगाएको छ । यस्तै ३ वटा पुल क्षतिग्रस्त भएका छन् भने ६ वटा पुल मात्र सुरक्षित छन् । बाढीले नेपाल–चीन सीमा जोड्ने रणनीतिक महत्त्वको रसुवागढीस्थित ‘मितेरी पुल’ सहित रसुवाका टिमुरेका दुई वटा बेलिब्रिज, चिलिमे र स्याफ्रुबेँसीका पक्की तथा बेलिब्रिज, मैलुङ, हाकु क्षेत्रका जलविद्युत् आयोजनाका पुलहरू बगाएको छ ।