काठमाडौँ । गैंडाकोट स्थित जय श्री फुड्स प्रालिले रसुवामा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि २५ लाख रुपैयाँ नगद र ५ हजार किलो चिउरा सहयोग गरेको छ।
कम्पनीले बाढीपीडितको तत्कालीन उद्धार तथा राहत व्यवस्थापनमा सहयोग पुगोस् भन्ने उद्देश्यले २५ लाख रुपैयाँ नगद र ५ हजार किलो चिउरा उपलब्ध गराएको हो। प्रालिका सञ्चालक पवन अग्रवालले अर्थमन्त्री स्वर्णिम वाग्लेलाई आइतबार सो सहयोग हस्तान्तरण गरेका हुुन ।
बाढीका कारण प्रभावित परिवारलाई आवश्यक खाद्यान्न तथा अन्य राहत सामग्रीको अभाव हुन नदिन कम्पनीले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत सहयोग गरेको जनाएको छ। प्राकृतिक विपत्तिका बेला पीडित नागरिकको साथमा उभिनुपर्ने दायित्वबोध गर्दै सहयोग गरिएको अग्रवालले जानकारी दिए ।
नगद रकम तथा खाद्यान्न सहयोगले बाढीबाट प्रभावित नागरिकको तत्कालीन आवश्यकता सम्बोधन गर्न तथा राहत वितरणमा सहजता ल्याउन मद्दत पुग्ने अपेक्षा गरिएको छ।
प्रालिले आगामी दिनमा पनि आवश्यक ताअनुसार सामाजिक तथा मानवीय क्षेत्रमा सहयोग गर्दै जाने प्रतिबद्धता जनाएको छ।