काठमाडौँ । बाढी प्रभावित क्षेत्र तथा आसपासका सेवाग्राहीलाई उपलब्ध गराउँदै आएको निःशुल्क भ्वाइस, डाटा र एसएमएस सेवा नेपाल टेलिकमले अर्को व्यवस्था नभएसम्म निरन्तर उपलब्ध गराउने भएको छ ।
यसअघि भदौ १४ गतेसम्मका लागि निःशुल्क भ्वाइस कल, प्रतिदिन दुई जिबी डाटा र ५० वटा एसएमएस सुविधा उपलब्ध गराइएको थियो । बाढी प्रभावित क्षेत्रमा राहत वितरण तथा उद्धार कार्यलाई सहज बनाउन कम्पनीले उक्त सुविधा थप समयका लागि निरन्तरता दिएको हो ।
नेपाल टेलिकमले बाढी प्रभावित क्षेत्रका बासिन्दालाई आवश्यकता अनुसार कम्पनीले उपलब्ध गराएको निःशुल्क सेवा उपभोग गर्न अनुरोध गरेको छ । विपद्का समयमा प्रभावित नागरिकलाई आफन्तजनसँग सञ्चार सम्पर्क कायम गर्न सहज होस् भन्ने उद्देश्यले निःशुल्क सेवा उपलब्ध गराइएको कम्पनीले जनाएको छ ।
बाढीका कारण नेपाल टेलिकमका विभिन्न भौतिक संरचनामा क्षति पुगे पनि दूरसञ्चार सेवा यथासम्भव नियमित राख्न तथा प्रभावित संरचनाको मर्मतसम्भार गर्न कम्पनीका प्राविधिक टोली निरन्तर परिचालित छन् ।
कम्पनीका अनुसार क्षतिग्रस्त अधिकांश संरचना पुनः सञ्चालनमा आइसकेका छन् । बाँकी संरचनासमेत यथाशीघ्र सञ्चालनमा ल्याउन प्राविधिक टोली निरन्तर खटिइरहेको छ ।
विपद्को यस अवस्थामा नेपाल टेलिकमको सेवा प्रयोग गरी सम्बन्धित सेवाग्राहीलाई परिवार, आफन्त तथा अन्य आवश्यक व्यक्तिसँग सञ्चार सम्पर्क कायम गर्न सहयोग पुग्ने कम्पनीले विश्वास व्यक्त गरेको छ ।