काठमाडौँ । रसुवाको भोटेकोशी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि आर्थिक सहयोग जुटिरहेका बेला अनधिकृत रूपमा रकम संकलन भइरहेको भन्दै प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यलयको सचिवालयले सहयोगदातालाई सजग रहन अपील गरेको छ।
प्रधानमन्त्री सचिवालयले कतिपय व्यक्ति, समूह तथा संस्थाले जथाभावी अनधिकृत क्यूआर कोड तथा व्यक्तिगत बैंक खाता नम्बर सार्वजनिक गरी आर्थिक सहयोग संकलन गरिरहेकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
विपद्को विषम परिस्थितिमा प्राप्त सहयोगको पारदर्शी उपयोग, सही व्यवस्थापन तथा सम्भावित वित्तीय ठगीबाट बच्न सरकारले सार्वजनिक गरेका आधिकारिक क्यूआर कोड र बैंक खाता नम्बरमार्फत मात्र आर्थिक सहयोग गर्न सचिवालयले आग्रह गरेको छ।
सचिवालयका अनुसार बाढी प्रभावितको उद्धार, राहत तथा पुनःस्थापनाका लागि सरकारले आधिकारिक रूपमा सञ्चालनमा ल्याएका दुई मुख्य कोषमा सहयोग गर्न सकिनेछ। ती कोषका आधिकारिक क्यूआर कोड तथा खाता विवरणमार्फत सहयोग गर्न सरकारले अनुरोध गरेको हो।
आर्थिक सहयोगका नाममा व्यक्तिगत वा अनधिकृत खातामा रकम जम्मा गर्दा रकम दुरुपयोग वा ठगी हुन सक्ने भएकाले सहयोग गर्न इच्छुक व्यक्ति तथा संस्थाले आधिकारिक विवरण यकिन गरेर मात्र रकम पठाउनुपर्ने सचिवालयले जनाएको छ।
बाढी प्रभावित नागरिकको तत्काल उद्धार, राहत वितरण र दीर्घकालीन पुनःस्थापनाका लागि प्राप्त हुने सहयोगलाई पारदर्शी तथा प्रभावकारी रूपमा परिचालन गर्न सरकार प्रतिबद्ध रहेको प्रधानमन्त्री सचिवालयले जनाएको छ।