काठमाडौं .चालु आर्थिक वर्षको साउनमा एक खर्ब ८७ अर्ब ४४ करोड ३६ लाख २२ हजार रुपैयाँ बराबरको वस्तु तथा सामान भित्रिएको छ।
भन्सार विभागका अनुसार गत आर्थिक वर्षको साउनको तुलनामा चालु आवको सोही अवधिमा ३१ दशमलव शून्य चार प्रतिशतले आयात वृद्धि भएको हो।
गत आवको साउनमा एक खर्ब ४३ अर्ब चार करोड ६ लाख ६९ हजार मूल्य पर्ने वस्तु तथा सामान भित्रिएको थियो।
साउनमा ३८ अर्ब ७० करोड ४१ लाख ४६ हजार रुपैयाँ बराबरको वस्तु तथा सामान विदेशी मुलुकमा निर्यात भएको छ।
गत साउनको तुलनामा चालु आवको सोही अवधिमा निर्यात ६१ दशमलव ७२ प्रतिशतले बढेको छ। गत आवको साउनमा भने २३ अर्ब ९३ करोड २४ लाख ४१ हजार मूल्य पर्ने वस्तु तथा सामान विदेशी मुलुकमा निर्यात भएको भन्सार विभागले जनाएको छ।