सोमवार, आश्विन ५ गते २०८३

काठमाडौंका विभिन्न क्षेत्रमा असोज ४ देखि १४ गतेसम्म बत्ति काटिने

सोमवार , आश्विन ५, २०८३

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले काठमाडौंका विभिन्न स्थानमा नियमित विद्युत आपूर्ति केही दिनका लागि अवरुद्ध हुने जनाएको छ ।

प्राधिकरणको आयोजना व्यवस्थापन निर्देशनालयअन्तर्गत सञ्चालित लप्सीफेदी तथा चाँगुनारायण सबस्टेसन निर्माण आयोजनाको काम भइरहेकोले १३२ केभी टेकु सबस्टेसनबाट विद्युत आपूर्ति कटौती गर्न लागिएको हो ।

टेकु सबस्टेसनमा पुराना रिलेहरू हटाएर नयाँ रिले जडान तथा परीक्षण गर्ने कार्य गर्नुपर्ने भएकाले असोज ४ गतेदेखि १४ गतेसम्म तोकिएका समयमा विद्युत सेवा प्रभावित हुने प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका अनुसार असोज ४ र ५ गते सुन्धारा-१ फिडरअन्तर्गतका क्षेत्र, असोज ५ र ६ गते पुलचोक फिडर, असोज ६ र ७ गते सुन्धारा-२ र बागमती फिडर, तथा सोही अवधिमा रिङरोड र भैंसेपाटी फिडरमा विद्युत सेवा अवरुद्ध हुनेछ ।

त्यसैगरी, असोज ८ गतेदेखि १४ गतेको बीचमा थापाथली, मिन्ट, कालिमाटी, भीमसेनस्थान, क्षेत्रपाटी, त्रिपुरेश्वर, चःमती, ताहाचल, कीर्तिपुर र कुलेश्वर फिडरअन्तर्गतका विभिन्न स्थानमा फरक(फरक समयमा विद्युत कटौती हुनेछ ।

यी क्षेत्रहरूमा मुख्यतया रातको ११ बजेदेखि बिहान २ बजेसम्म वा बिहान २ बजेदेखि ५ बजेसम्मको समयमा मर्मत कार्य गरिनेछ । यसबाट न्युरोड, धरहरा, त्रिपुरेश्वर, टेकु, बल्खु, सानेपा, कालीमाटी, कीर्तिपुर र सोल्टीमोड आसपासका क्षेत्रमा विद्युत कटौती हुनेछ ।

प्राधिकरणले तोकिएको समयमै काम सम्पन्न गरी सकेसम्म छिटो विद्युत सेवा सुचारु गर्ने प्रयास गर्ने जनाएको छ । यदि प्राविधिक समस्याका कारण कार्यतालिकामा कुनै फेरबदल गर्नुपर्ने अवस्था आएमा सोको जानकारी समेत गराइने प्राधिकरणले स्पष्ट पारेको छ ।

कार्य सम्पन्न भएपश्चात निर्धारित समयभन्दा अगावै पनि विद्युत सेवा पुनः सुचारु हुन सक्ने प्राधिकरणले जानकारी दिएको छ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार