बुधवार, भाद्र ३ गते २०८३

जहाजमा कफी पोखिएर यात्रु घाइते भएको घटनामा कतार एयरवेजले २ करोड ६१ लाख क्षतिपूर्ति तिर्नुपर्ने फैसला

बुधवार , भाद्र ३, २०८३

काठमाडौँ । उपभोक्ता अदालत काठमाडौँले कतार एयरवेजको विमानमा यात्राका क्रममा तातो कफी पोखिएर घाइते भएकी एक यात्रुलाई २ करोड ६१ लाख ९२ हजार ४ सय ६ रुपैयाँ क्षतिपूर्ति दिलाउने फैसला गरेको छ ।

ललितपुरकी ५२ वर्षीया प्रिती थापाले दायर गरेको मुद्दामा अदालतका अध्यक्ष डा. दिवाकर भट्ट तथा सदस्यहरू गेहेन्द्र राज रेग्मी र आनन्दराज पोखरेलको इजलासले यो ऐतिहासिक फैसला सुनाएको हो ।

घटना सन् २०२३ जुलाई १० को हो । थापा कतार एयरवेजको उडान नम्बर  ७४४ मार्फत अमेरिकाको बोस्टनबाट दोहा हुँदै काठमाडौँ आउँदै थिइन् । उडानकै क्रममा विमानका कर्मचारी (क्याबिन क्रु) ले कफी दिने क्रममा असावधानीवश थापाको पेट र तिघ्राको संवेदनशील भागमा अत्यधिक तातो कफी पोखिएको थियो । कफीले पोलेर उनलाई ‘सेकेन्ड डिग्री बर्न’ भएको थियो ।

फिराद पत्रका अनुसार कफीले पोलेपछि उनले प्राथमिक उपचारका लागि औषधि माग्दा विमानमा उपलब्ध नभएको जवाफ दिइयो । उनले करिब ३ देखि ४ घण्टासम्म आकाशमै असह्य पीडामा यात्रा गर्नुपरेको थियो । नेपाल ओर्लिएपछि उनले कीर्तिपुरस्थित जलन अस्पतालमा उपचार गराएकी थिइन् ।

अदालतले अन्तर्राष्ट्रिय हवाई परिवहन सम्बन्धी ‘मोन्ट्रियल महासन्धि १९९९’ र नेपालको ‘उपभोक्ता संरक्षण ऐन २०७५’ लाई आधार मानी फैसला गरेको छ ।

मोन्ट्रियल महासन्धिको धारा १७ अनुसार विमानभित्र हुने दुर्घटनामा यात्रुलाई शारीरिक चोट लागेमा विमान कम्पनी ९करियर० को ‘निरपेक्ष दायित्व’ रहने व्यवस्था छ ।

कतार एयरवेजले आफ्नो बचाउ गर्दै यात्रु स्वयंको गल्तीले कफी पोखिएको दाबी गरे पनि अदालतले त्यसलाई स्वीकार गरेन । क्याबिन क्रुले तातो कफी दिँदा पर्याप्त सावधानी नअपनाएको र बिर्को सुरक्षित नभएका कारण दुर्घटना भएको अदालतको ठहर छ।

वादी प्रिती थापाले शारीरिक र मानसिक पीडा, उपचार खर्च र आयआर्जनमा भएको क्षतिको दाबी गर्दै २ लाख अमेरिकी डलर क्षतिपूर्ति माग गरेकी थिइन् । अदालतले महासन्धिले तोकेको ‘स्पेसल ड्रइङ राइट्स’ को विनिमय दर र पीडितको अवस्थालाई हेरेर रकम भराउने आदेश दिएको छ ।

कुल क्षतिपूर्ति रकम २ करोड ६१ लाख ९२ हजार ४ सय ६ रुपैयाँ तोकिको छ । फैसला भएको ३० दिनभित्र चित्त नबुझे उच्च अदालतमा पुनरावेदन दिन सकिनेछ ।

उपभोक्ताको स्वास्थ्य र सुरक्षामा खेलबाड गर्ने अन्तर्राष्ट्रिय विमान कम्पनीलाई यति ठुलो रकम क्षतिपूर्ति तिराउने नेपालको यो सम्भवतः पहिलो ठूलो फैसला हो ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार