पोखरा । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमाञ्चल क्षेत्रीय अस्पतालले रिक्त रहेका विभिन्न पदहरूमा करार सेवामार्फत पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ ।
प्रतिष्ठानले बुधबार सूचना प्रकाशित गर्दै उप-प्राध्यापकदेखि स्टाफ नर्ससम्मका विभिन्न प्राविधिक पदहरूमा ४६ जना जनशक्ति माग गरेको हो ।
सूचना अनुसार प्रतिष्ठानले सबैभन्दा बढी ३० जना स्टाफ नर्स (पाँचौँ तह) को माग गरेको छ। त्यस्तै, ८ जना मेडिकल अधिकृत, १ जना उप-प्राध्यापक (क्रिटिकल मेडिसिन), १ जना सूचना प्रविधि अधिकृत (सातौँ तह), २ जना डेन्टल हाइजेनिस्ट र ४ जना रेडियोग्राफर ९१ महिलासहितका लागि आवेदन खुला गरिएको छ । इच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले सूचना प्रकाशित भएको मितिले ७ दिनभित्र कार्यालय समयभित्र आवेदन दिइसक्नुपर्नेछ ।
आवेदन दिन चाहने उम्मेदवारले कृषि विकास बैंकमा रहेको प्रतिष्ठानको आम्दानी खातामा पद अनुसार तोकिएको दस्तुर ६०० देखि १,५०० सम्म जम्मा गरी सोको भौचर, शैक्षिक योग्यताका प्रमाणपत्रहरू, नागरिकताको प्रतिलिपि र सम्बन्धित काउन्सिलमा दर्ता भएको प्रमाणपत्र सहित प्रतिष्ठानबाट उपलब्ध हुने फारम भरी बुझाउनुपर्नेछ ।
उम्मेदवारको उमेर १८ वर्ष पूरा भई ४५ वर्ष ननाघेको हुनुपर्नेछ भने उप-प्राध्यापकको हकमा चिकित्सा शिक्षा आयोगले तोके बमोजिम हुने जनाइएको छ। विदेशमा अध्ययन गरेकाहरूको हकमा नेपाल सरकारबाट प्राप्त समकक्षताको प्रमाणपत्र अनिवार्य गरिएको छ। छनोट प्रक्रिया पद अनुसार लिखित र अन्तर्वार्ता दुवै वा अन्तर्वार्ता मात्र हुनेछ ।
परीक्षाको मिति र स्थान पछि प्रतिष्ठानको वेबसाइटमार्फत सार्वजनिक गरिने अस्पताल प्रशासनले जनाएको छ। नियुक्त हुने कर्मचारीको सेवा सुविधा प्रतिष्ठानको प्रचलित तलब स्केल अनुसार हुनेछ।