बुधवार, श्रावण २७ गते २०८३

बडीमालिकामा टेलिफोन र इन्टरनेट विस्तारका लागि हेलिकप्टरमार्फत् धमाधम उपकरण ढुवानी

बुधवार , श्रावण २७, २०८३

काठमाडौं । बाजुराको धार्मिक तथा पर्यटकीयस्थल बडीमालिका क्षेत्रमा टेलिफोन तथा इन्टरनेट सेवा विस्तारका लागि नेपाल टेलिकमले धमाधम हेलिकप्टरमार्फत सञ्चार उपकरण तथा आवश्यक सामग्री ढुवानी गरेको छ ।

भौगोलिक विकटता र सडक सञ्जालको अभावका कारण स्थलमार्गबाट उपकरण पु¥याउन कठिन भएपछि नेपाली सेनाको हेलिकप्टरमार्फत मंगलबार सामग्री बडीमालिका क्षेत्रमा पुर्याइएको हो । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाको निर्देशनपछि टेलिकमले यो काम गरेको हो । 

सञ्चारमन्त्री तिमिल्सिनाले यही साउन ८ गते नेपाल टेलिकमलाई तत्काल टेलिफोन तथा इन्टरनेट सेवा विस्तारका लागि आवश्यक प्रक्रिया अघि बढाउन निर्देशन दिएका थिए । दुर्गम तथा पर्यटकीय क्षेत्रमा सञ्चार सेवाको पहुँच विस्तारलाई प्राथमिकतामा राख्दै बडीमालिकामा जतिसक्दो छिटो सेवा सञ्चालन गर्न उनले निर्देशन दिएका थिए । 

निर्देशनपछि मन्त्रालयले नेपाल टेलिकमसँग निरन्तर समन्वय गर्दै सेवा विस्तारका लागि आवश्यक पूर्वाधार, उपकरण ढुवानी र जडान प्रक्रियालाई तीव्रता दिएको हो ।

यसबीच सञ्चारमन्त्री डा तिमिल्सिनाले बडीमालिका नगरपालिकाका नगरप्रमुख अमरबहादुर खड्कासँग समेत छलफल गरी दूरसञ्चार पूर्वाधार जडानका लागि आवश्यक स्थान, स्थानीय सडकको अवस्था तथा स्थानीय तहबाट हुन सक्ने सहयोगका विषयमा जानकारी लिएका थिए । 


नेपाल टेलिकम सुदूरपश्चिम प्रादेशिक निर्देशनालयका निर्देशक बृजेश शर्माका अनुसार प्रतिकूल मौसमका कारण उपकरण ढुवानीमा केही ढिलाइ भएको हो । 
मंगलबार हेलिकप्टरबाट सामग्री तोकिएको स्थानसम्म पु¥याइए पनि त्यहाँबाट जडानस्थलसम्म करिब चार हजार किलोग्राम उपकरण तथा अन्य सामग्री जनशक्तिमार्फत् बोकाएर लैजानुपर्ने अवस्था रहेको निर्देशक शर्माले जानकारी दिए ।

जडानस्थलमा आवश्यक सबै सामग्री पुगेपछि करिब पाँच दिनभित्र साइट सञ्चालनमा ल्याउन सकिने नेपाल टेलिकमले जनाएको छ ।


नेपाल टेलिकमले यसअघि साउन महिनाभित्रै बडीमालिका क्षेत्रमा सेवा सञ्चालन गर्ने लक्ष्य राखेको थियो । प्रारम्भिक रूपमा साउन ३० गतेभित्र काम सम्पन्न गर्ने तयारी भए पनि प्रतिकूल मौसम, उच्च हिमाली भूगोल र सामग्री ढुवानीमा देखिएको कठिनाइका कारण निर्धारित समयभन्दा केही ढिलाइ हुने भएको हो ।

यद्यपि उपकरण जडान र प्राविधिक कामलाई तीव्रता दिएर सकेसम्म छिटो सेवा सञ्चालन गर्ने तयारी टेलिकमले गरेको छ । बडीमालिका मन्दिर क्षेत्र समुद्री सतहबाट करिब चार हजार दुई सय मिटरको उचाइमा रहेको छ ।

उच्च हिमाली भूभागमा अवस्थित उक्त क्षेत्रमा धार्मिक पर्यटनका साथै आन्तरिक तथा बाह्य पर्यटकको आवागमन बढ्दै गए पनि भरपर्दो टेलिफोन तथा इन्टरनेट सेवा उपलब्ध हुन सकेको थिएन । सञ्चार सेवाको अभावले स्थानीय बासिन्दा, तीर्थयात्री तथा पर्यटकलाई सम्पर्क र सूचना आदानप्रदानमा समस्या हुँदै आएको थियो ।


नेपाल टेलिकमले बडीमालिका क्षेत्रमा प्रारम्भिक चरणमा ४जी सेवा सञ्चालन गर्ने तयारी गरेको छ । दुर्गम तथा पर्यटकीय क्षेत्रमा मोबाइल ब्रोडब्यान्डको पहुँच विस्तार गर्ने सरकारको योजनाअनुसार उच्च हिमाली क्षेत्रमा समेत आधुनिक दूरसञ्चार सेवा पु¥याउने काम अघि बढाइएको टेलिकमले जनाएको छ ।


बडीमालिकासँगै सगरमाथा आधार शिविर क्षेत्रमा पनि ४जी सेवा विस्तारका लागि अध्ययन अघि बढाइएको नेपाल टेलिकमले जनाएको छ । पर्यटकीय गतिविधि बढिरहेका उच्च हिमाली क्षेत्रमा सञ्चार सेवा विस्तारलाई प्राथमिकतामा राख्दै आवश्यक प्राविधिक तथा भौगोलिक अध्ययन भइरहेको छ ।


यसअघि पनि नेपाल टेलिकमले उच्च हिमाली क्षेत्रका केही स्थानमा ४जी सेवा विस्तार गरिसकेको छ । डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–६ स्थित ल्हान तथा ठूलीभेरी नगरपालिका–१, दुनै क्षेत्रमा समुद्री सतहबाट करिब तीन हजार नौ सय मिटरको उचाइमा ४जी सेवा सञ्चालनमा आइसकेको छ ।

त्यस्तै, ताप्लेजुङको ओलाङचुङगोलामा करिब तीन हजार चार सय मिटरको उचाइमा समेत ४जी सेवा सुरु भइसकेको छ ।
सरकारले दुर्गम, ग्रामीण तथा सञ्चार सेवाको पहुँच कमजोर रहेका क्षेत्रमा दूरसञ्चार पूर्वाधार विस्तारलाई प्राथमिकतामा राखेको छ ।

भौगोलिक विकटताका कारण सञ्चार सेवाबाट वञ्चित क्षेत्रलाई राष्ट्रिय सञ्चार सञ्जालमा जोड्ने तथा डिजिटल विभाजन घटाउने उद्देश्यले मोबाइल तथा इन्टरनेट सेवाको पहुँच विस्तारलाई तीव्रता दिइएको हो ।


देशभर दूरसञ्चार सेवाको पहुँच र गुणस्तर सुधारका लागि हाल करिब एक हजार छ सय नयाँ मोबाइल टावर तथा सम्बन्धित साइट निर्माणको प्रक्रिया अघि बढाइएको छ ।

ग्रामीण तथा दुर्गम क्षेत्रमा सेवा विस्तार, क्षमता वृद्धि र गुणस्तर सुधारका लागि नेपाल टेलिकमले चालु आर्थिक वर्षमा मात्रै करिब रु छ अर्बभन्दा बढी लगानी गर्ने तयारी गरेको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार