काठमाडौँ । नेपाली कांग्रेसको संस्थापन इतर समूहले आगामी साउन २९ गतेदेखि ३१ गतेसम्म काठमाडौँमा आयोजना गर्न लागेको राष्ट्रिय भेलामा ७ प्रदेश सभापति, ७७ जिल्ला सभापति र १६५ प्रतिनिधि सभा क्षेत्रीय समितिका सभापतिलाई सहभागिताका लागि पत्र पठाएको छ ।
भेलाका प्रचार प्रसार उपसमितिका संयोजक मीन विश्वकर्माले उनीहरूलाई आफू सहभागी हुन र आफ्नो क्षेत्रमा रहेका पार्टीका निकायको नेतृत्व गरेका र यसअघि नेतृत्व गरेकाहरूलाई पनि सहभागी गराउन आग्रह गरिएको जानकारी दिए ।
पार्टीको आन्तरिक सुदृढीकरण र समसामयिक राजनीतिक विषयमा छलफल गर्न निवर्तमान सभापति शेरबहादुर देउवा र नेता डा। शेखर कोइराला समूहले तीन दिने भेला बोलाएको छ ।
भेलालाई भव्य र व्यवस्थित बनाउन समूहले सातै प्रदेशका सभापति, ७७ वटै जिल्लाका सभापति र १६५ वटा प्रतिनिधि सभा निर्वाचन क्षेत्रका सभापतिहरूलाई उपस्थितिका लागि पत्राचार गरेको हो ।