काठमाडौं । अर्थ मन्त्रालयले वैकल्पिक विकास वित्त कोषको प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्तिका लागि नाम सिफारिस गर्न इच्छुक उम्मेदवारबाट आवेदन आह्वान गरेको छ ।
मन्त्रालयले वैकल्पिक विकास वित्त कोष सञ्चालन ऐन, २०८३ को दफा १९ को उपदफा ९४० बमोजिम प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्तिका लागि नाम सिफारिस गर्न उम्मेदवार छनोटसम्बन्धी कार्यविधि, २०८३ बमोजिम योग्य व्यक्तिबाट दरखास्त माग गरेको हो ।
दरखास्तसँगै उम्मेदवारले व्यक्तिगत विवरण, शैक्षिक योग्यता तथा अनुभवसम्बन्धी प्रमाणपत्र, नेपाली नागरिकताको प्रमाणपत्र, पासपोर्ट साइजको फोटो, कार्यविवरण र अन्य आवश्यक कागजात पेस गर्नुपर्नेछ । उम्मेदवारले व्यावसायिक रणनीति तथा कार्ययोजना पनि पेस गर्नुपर्नेछ ।
कार्ययोजनामा नेपालमा लगानी तथा पूर्वाधारमा लगानीको अवस्था, वैकल्पिक विकास वित्तको दृष्टिकोण तथा अन्तर्राष्ट्रिय परिदृश्य, कोष सञ्चालनको विश्लेषण, सबल पक्ष तथा चुनौती र व्यवस्थापनका लागि धारणा, कोष सञ्चालनको रणनीतिक दिशा, चार वर्षको व्यावसायिक कार्ययोजना, संस्थागत सुशासन तथा सङ्गठनात्मक क्षमता विकास र कार्ययोजना कार्यान्वयनका चरण तथा समाधानका उपाय समेट्नुपर्नेछ ।
प्रमुख कार्यकारी अधिकृत पदका लागि नेपाली नागरिक वा नेपालमा स्थायी आवासीय अनुमति प्राप्त विदेशी नागरिक हुनुपर्नेछ । उम्मेदवारको उमेर ३५ वर्ष पूरा भई ६५ वर्ष ननाघेको हुनुपर्ने व्यवस्था गरिएको छ ।
मान्यता प्राप्त शिक्षण संस्थाबाट वित्त विश्लेषण, अर्थशास्त्र, व्यवस्थापन वा वाणिज्यशास्त्र, सार्वजनिक विकास प्रशासन, वाणिज्य कानुन वा इन्जिनियरिङ विषयमा कम्तीमा स्नातकोत्तर तह उत्तीर्ण गरेको हुनुपर्नेछ ।
साथै, पूर्वाधार संरचना, आयोजना निर्माण तथा विकास, सार्वजनिक–निजी साझेदारी, लगानी प्रवर्द्धन, विकास प्रशासन, बैंकिङ, वित्तीय क्षेत्र, औद्योगिक व्यवस्थापन वा अन्तर्राष्ट्रिय वित्तीय क्षेत्र वा संस्थामा कम्तीमा १० वर्षको व्यवस्थापकीय अनुभव आवश्यक पर्नेछ ।
उम्मेदवारमा कोषसँग सम्बन्धित कार्यका लागि उच्च नैतिक चरित्र कायम गरेको र कार्यविधिको दफा ९६० बमोजिम अयोग्य नभएको हुनुपर्ने पनि सूचनामा उल्लेख छ ।