मंगलवार, आश्विन १३ गते २०८३

बाढीपहिरो प्रभावित क्षेत्रमा सेनाको उद्धार र जोखिम न्यूनीकरण जारी

सोमवार , आश्विन १२, २०८३

काठमाडौं । अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी, पहिरो र डुबानको जोखिम बढेपछि नेपाली सेनाले प्रभावित क्षेत्रमा खोज तथा उद्धार, राहत सामग्री ढुवानी, सडक खुलाउने तथा जोखिम न्यूनीकरणको काम तीव्र बनाएको छ ।


नेपाली सेनाको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार म्याग्दी, पर्वत, बागलुङ, मनाङ र चितवनलगायत जिल्लामा सेनाको टोली उद्धार तथा जोखिम न्यूनीकरणमा परिचालित छ ।


सेनाको हेलिकप्टरमार्फत म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ पाउद्वारबाट १८ जना तथा वडा नं. ६ धौसेखर्कबाट १० जनालाई उद्धार गरी क्रमशः वडा नं. ६ र वडा नं. ५ को वडा कार्यालयमा सुरक्षित स्थानान्तरण गरिएको छ ।


पर्वतको जलजला गाउँपालिका–८ फर्सेमा जोखिमका कारण स्थानान्तरण गरिएका स्थानीयलाई नयाँ रणभीम गुल्मबाट खटिएको सेनाको टोलीले स्थानीय तहसँगको सहकार्यमा खाद्यान्न तथा राहत सामग्री वितरण गर्नुका साथै अस्थायी क्याम्प निर्माणमा सहयोग गरेको छ ।


यसैगरी बागलुङको निसीखोला गाउँपालिका–४ झिवाखोला र बडिगाड गाउँपालिका–३ चिसापानीमा सेनाको हेलिकप्टरमार्फत आवश्यक खाद्यान्न तथा अस्थायी बसोबासका सामग्री ढुवानी गरिएको छ ।


वर्षाका कारण अवरुद्ध सडक खुलाउन पनि सेनाको टोली परिचालित भएको छ । बागलुङको गलकोट नगरपालिका–१ काफ्लठुटामा पहिरोले अवरुद्ध सडक सञ्चालनमा ल्याउन कालीजंग गणबाट खटिएको फौजले सहयोग गरेको छ ।


पर्वतको मालढुङ्गा–बेनी–जोमसोम–कोरला सडक तथा कुश्मा नगरपालिका–१ स्थित मध्यपहाडी लोकमार्गको सडकखण्ड अवरुद्ध भएपछि गुरुगोरख गुल्मबाट खटिएको सेनाको टोलीले सडक खुलाउने काम गरेको छ ।


मनाङको चामे गाउँपालिका–४ माडाकुनास्थित प्रदेश अस्पतालमाथिबाट ठूलो पहिरो खस्दा लमजुङतर्फबाट बग्ने खोलामा माटो तथा ढुङ्गा थुप्रिएर मर्स्याङ्दी नदीको बहाव आंशिक रूपमा अवरुद्ध भएको छ ।

नदीको बहावमा थप जोखिम उत्पन्न हुन नदिन नयाँ भैरवी दल गुल्मबाट खटिएको सेनाको टोलीले स्थानीय, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलसँगको सहकार्यमा थुप्रिएको लेदो हटाउने काम गरिरहेको छ ।


चितवनको भरतपुर महानगरपालिका–१ स्थित नारायणी पुलको पिल्लर तथा पुलको सतहमुनि कोल्टिएर अड्किएको राइनो क्रुजको दुईतले डुङ्गालाई पनि सेनाको उद्धार टोलीले सुरक्षित स्थानतर्फ सारेको छ ।

नयाँ सबुज गण तथा नं. १ विपद् व्यवस्थापन गणबाट खटिएको टोलीले नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र अन्य सरोकारवाला निकायसँगको समन्वयमा क्रेन, एक्साभेटरलगायत उपकरण प्रयोग गरी डुङ्गालाई पुलको पिल्लरबाट सुरक्षित दूरीमा सारेको सेनाले जनाएको छ ।


नेपाली सेनाले वर्षाजन्य विपद्बाट प्रभावित तथा जोखिममा रहेका क्षेत्रमा खोज, उद्धार, राहत, सडक खुलाउने र सम्भावित जोखिम न्यूनीकरणका कामलाई निरन्तरता दिएको जनाएको छ ।

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार