सोमवार, आश्विन ५ गते २०८३

सुरुङ पुरै ‘ब्रेक थ्रु’ नभएसम्म खोजी जारी रहन्छ : सेना

सोमवार , भाद्र २२, २०८३

काठमाडौँ । जलविद्युत आयोजनाहरूको सुरुङ ‘ब्रेक थ्रु’ नभएसम्म खोजी जारी रहने नेपाली सेनाले जनाएको छ । सोमबार सिंहदरबारस्थित राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा आयोजित पत्रकार सम्मेलनमा सेनाका सहायक रथी सुवासजंग थापाले भने– ‘जबसम्म टनेलहरू ब्रेक थ्रु हुँदैन तबसम्म खोज जारी रहन्छ ।’

भोटेकोशीको बाढीका कारण क्षति पुगेका रसुवा र नुवाकोटमा जलविद्युत आयोजनाका सुरुङहरूमा नेपाली सेना, सशस्त्र प्रहरी र विदेशी उद्धारकर्मीहरुले संयुक्त खोज तथा उद्धार गरिरहेका छन् । सरकारले नखोज्ने निर्णय गरेको अवस्थामा बाहेक सबै सुरुङ ‘ब्रेकथ्रु’ नभएसम्म निरन्तर खोज तथा उद्धार जारी राखिने सहायक रथी थापाले जानकारी दिए ।

भोटेकोशीमा आएको बाढीबाट रसुवा र नुवाकोटका ११ वटा जलविद्युत आयोजना प्रभावित भएका छन् ।सेना सहितको संयुक्त उद्धार टोलीले अपर त्रिशूली–१ बाट ११५ मिटर भित्रबाट एक जना चिनियाँ नागरिकलाई जीवितै उद्धार गरेका थिए ।

त्रिशूली–३ ए जलविद्युत आयोजनाको नुवाकोटस्थित पावर हाउसमा ४ वटा स्काभेटर र ३ वाटर पम्प प्रयोग गरेर उद्धार गरिएको सेनाले जनाएको छ । सो आयोजनाबाट सेना सहितका उद्धारकर्मीले दुई जनाको जीवित उद्धार र एक जनाको शव निकालेका थिए । पावर हाउसको ढोका भेट्न निरन्तर प्रयास गरिएको र ढोकाभित्र धेरै लेदो छिरेको कारण समस्या भएको सहायक रथी थापाले बताए ।

त्रिशूली–३ बी आयोजनामा ४० जना मानिस पुरिएको आशङ्का गरिएको थियो । सो आयोजना स्थलमा सेनाका ९० जना सुरक्षाकर्मीहरूले अहिले पनि खोजी तथा उद्धार कार्य गरिरहेका छन् । त्यहाँ मेनपावर र सावेलमार्फत धेरै काम गरिएको सहायक रथी थापाले बताए । 

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार