काठमाडौं । जेनजी आन्दोलनका सहिद परिवार र घाइतेहरूले आगामी असोज १५ गतेदेखि नयाँ बानेश्वरस्थित संसद भवनभित्र सात दिने महायज्ञ सञ्चालन गरर्ने भएका छन् ।
संसद भवन गत वर्ष भदौ २४ गते जेन जी आन्दोलनको क्रममा जलाईएको थियो । जेनजी सहिद परिवार कल्याणकारी समाज र घाइते जेनजी नेपाल संयुक्त संघर्ष समितिले आईतवार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरेर यसबारेमा जानकारी दिएका हुन् ।
साथै, उनीहरुले आफूहरुका माग तत्काल पूरा गर्न सरकारलाई चेतावनी पनि दिएका छन् । माग पुरा नभएको सडक आन्दोलनमा उत्रने उनीहरुको चेतावनी छ ।
पत्रकार सम्मेलनमा जेनजी सहिद श्रीयम चौलागाईंका पिता तथा जेनजी सहिद परिवार कल्याणकारी समाजका कोषाध्यक्ष गणेशप्रसाद चौलागाईंले सरकारले सहिद परिवार र घाइतेका माग सम्बोधनमा गम्भीरता नदेखाएको भन्दै आक्रोश व्यक्त गरे।
उनले गृहमन्त्री सुधन गुरुङले सरकार गठन भएको एक महिनाभित्र जेनजी सहिदका परिवार र घाइतेहरुका सबै माग पूरा गर्ने आश्वासन दिएपछि आन्दोलनका कार्यक्रम स्थगित गरिएको भएपनि अहिलेसम्म ठोस प्रगति नभएको बताए।
उनले आफूहरूका माग सम्बोधन गर्न भन्दै सरकारले पटक पटक समिति गठन गर्ने तर ती समितिले प्रभावकारी रुपमा काम गर्न नसक्दा सरकारप्रति आफूहरूको विश्वास गुम्दै गएको बताए।
चौलागाईंले घटना भएको १२ महिना बितिसक्दा समेत सरकारले विश्वास गर्ने आधार तयार गर्न नसकेको आरोप लगाए। उनले सरकारले विगतमा सहिद परिवार र घाइतेहरुसँग गरेका सहमतिहरू कार्यान्वयन नगरेको समेत आरोप लगाए।
जेनजी आन्दोलनका सहिद परिवार र घाइतेहरूले जेनजी आन्दोलनका सहिदको स्मृतिमा भदौ २३ गते ‘स्मृति दिवस’ मनाउने भएका छन् । उक्त स्मृति दिवस बानेश्वरस्थित पुरानो संसद भवन परिसरमा आयोजना गरिने जानकारी दिए।
संयुक्त समितिले आगामी असोज १५ गतेदेखि सोही संसद भवनभित्र सात दिने महायज्ञ सञ्चालन गर्ने योजना रहेको समेत चौलागाईले बताए।