काठमाडौँ । नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा_ले आयोजना गरेको नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ एक लाख ८० हजारभन्दा बढी अवलोकनकर्ताको उत्साहजनक सहभागितासहित सम्पन्न भएको छ।
साउन २६ गते भव्य समारोहबीच उद्घाटन गरिएको एक्स्पोको समापनका दिन मात्रै ३० हजारभन्दा बढीले अवलोकन गरेका थिए। उद्घाटनका दिन २९ हजार, दोस्रो दिन २६ हजार, तेस्रो दिन २२ हजार, चौथो दिन ३१ हजार तथा शनिबार पाँचौँ दिन ४२ हजारभन्दा बढीले एक्स्पो अवलोकन गरेका थिए। नाइमाले ६ दिनमा डेढ लाख अवलोकनकर्ता आउने अपेक्षा गरेकोमा त्यसलाई उछिन्दै १ लाख ८० हजारभन्दा बढी दर्शक एक्स्पोमा पुगेका हुन्।
समापन समारोहमा नाइमा अध्यक्ष रितु सिंह वैद्यले ५५ भन्दा बढी ब्रान्डको सहभागिता, १ लाख ८० हजारभन्दा बढी अवलोकनकर्ता र ५३ वटा नयाँ उत्पादन सार्वजनिक हुनु एक्स्पोका प्रमुख उपलब्धि भएको बताइन्।
उनले एक्स्पो कुनै एक व्यक्ति वा संस्थाको मात्र नभई नेपालको समग्र मोबिलिटी उद्योगको सामूहिक सफलता भएको बताउँदै आगामी दिनमा अझ ठूलो र प्रभावकारी एक्स्पो आयोजना गर्ने प्रतिबद्धता व्यक्त गरिन्।
नयाँ सवारीसाधन र प्रविधिको प्रदर्शनसँगै ज्ञान तथा सिकाइलाई प्राथमिकता दिइएको उल्लेख गर्दै उनले एक्स्पोलाई सवारीसाधन प्रदर्शन गर्ने थलो मात्र नभई ज्ञान सिर्जना गर्ने प्लेटफर्मका रूपमा विकास गर्न खोजिएको बताइन्।
नाइमाका बोर्ड सदस्य क्याबिनेट श्रेष्ठले ठूलो संख्यामा मानिसको सहभागिता हुनु नेपालको अटोमोबाइल उद्योगका लागि सकारात्मक संकेत भएको बताए। उनका अनुसार एक्स्पो समग्र रूपमा सफल भएको छ।
अटो शो प्लानिङ कमिटीका अध्यक्ष गौरव शारडाले अपेक्षा गरेभन्दा बढी दर्शकको सहभागिता, राम्रो इन्क्वायरी तथा बुकिङ प्राप्त भएको बताए। उनले एक्स्पोको सफलताले आयोजकलाई थप उत्साहित बनाएको उल्लेख गरे।
त्यस्तै, नाइमाको स्ट्राटेजी एन्ड मेम्बरसिप अफेयर्स कमिटीका अध्यक्ष आकाश गोल्छाले एक्स्पोलाई एक शब्दमा ‘सुपरहिट’ भएको बताए। नाइमाका कार्यकारी निर्देशक राजकुमार दुलालले बृहत् प्रदर्शनी, सिकाइ सत्र, सहकार्य र मागकेन्द्रित व्यवस्थापनमार्फत एक्स्पोको अवधारणालाई थप परिष्कृत गरिएको बताए। उनका अनुसार अवलोकनकर्ताको सन्तुष्टि नै एक्स्पोको सफलताको प्रमुख मापक हो।
विभिन्न विषयमा संवाद तथा छलफल
एक्स्पोको समापनका दिन ‘नाइमा मोबिलिटी संवाद’अन्तर्गत मोबिलिटी क्षेत्रमा प्रविधि, उद्यमशीलता, नेतृत्व तथा भविष्यका सम्भावनालगायत विषयमा छलफल गरिएको थियो। संवादमा प्रतिनिधिसभा सदस्य विदुषी राणा, नाइमाका बोर्ड सदस्य एवं पद्मज्योति ग्रुपका अध्यक्ष सौरभ ज्योति, पद्मकन्या क्याम्पसकी सहायक प्राध्यापक भगवती सेडाइँ र थापाथली इन्जिनियरिङ क्याम्पसका एसिस्टेन्ट प्रोफेसर लोचनकेन्द्र देवकोटा सहभागी थिए। कार्यक्रमको सहजीकरण सञ्चारकर्मी सञ्जय सिलवाल गुप्ताले गरेका थिए।
एक्स्पो अवधिभर मोबिलिटी क्षेत्रसँग सम्बन्धित विभिन्न विषयमा संवाद, छलफल तथा अन्तर्क्रिया आयोजना गरिएको थियो। शनिबार ‘एआई एन्ड अटोमोटिभ टेक्नोलोजी’, शुक्रबार ‘टेक्निकल ब्याट्री रिसाइकलिङ एन्ड ।।।’ तथा बिहीबार ‘मोबिलाइजिङ मोबिलिटी थ्रुघ फाइनान्स’लगायत विषयमा छलफल गरिएको थियो। बुधबार ‘लर्निङ सेसन्स’अन्तर्गत ‘मोबिलिटी स् हिजो, आज र भोलि’ विषयमा संवाद गरिएको थियो भने पहिलो दिन ‘इन्भेस्टमेन्ट एन्ड फोरेन डाइरेक्ट इन्भेस्टमेन्ट (एफडीआई) मोबिलाइजिङ–फ्युलिङ इकोनोमिक ग्रोथ’ विषयमा छलफल भएको थियो।
दिगो तथा प्रविधिमैत्री यातायातमा जोड
नेपालमा दिगो, हरित तथा प्रविधिमैत्री यातायात प्रणालीलाई प्रवर्धन गर्ने उद्देश्यले एक्स्पोको दोस्रो संस्करण आयोजना गरिएको हो। एक्स्पोमा स्वदेशी तथा बहुराष्ट्रिय सवारीसाधन निर्माता र आयातकर्ताको उल्लेख्य सहभागिता रहेको थियो।
एक्स्पोमा विभिन्न बैंक, बीमा कम्पनी, प्रविधि तथा शिक्षा क्षेत्रका संस्था, चार्जिङ कम्पनी, राइड सेयरिङ, आतिथ्य, स्वास्थ्य, सुरक्षा, डिजिटल तथा सञ्चार क्षेत्रका संस्थाले साझेदारका रूपमा सहभागिता जनाएका थिए।
ग्लोबल आइएमई बैंक को–स्पोन्सर रहेको एक्स्पोमा रेडबुल पावर्डबाई, एनएमबी बैंक र सिद्धार्थ बैंक बैंकिङ पार्टनरका रूपमा रहेका थिए। सगरमाथा लुम्बिनी इन्स्योरेन्स ९सलिको० र एनएलजी इन्स्योरेन्स इन्स्योरेन्स पार्टनर थिए।
बोस टेक्नोलोजी पार्टनर, ग्लोबल कलेज र एम्बार्क कलेज एजुकेसन पार्टनर तथा अग्नि इनर्जी र अजायल इन्जिनियरिङ सोलुसन्स चार्जिङ पार्टनरका रूपमा रहेका थिए। पठाओ नेपाल राइड पार्टनर, अक्वा मिनरल्स ९अक्वा हन्ड्रेड० हाइड्रेसन पार्टनर, द सोल्टी काठमाडौं हस्पिटालिटी पार्टनर र ग्रान्डी इन्टरनेसनल हस्पिटल मेडिकल पार्टनर थिए।
त्यस्तै, भत्सल इम्पेक्स हिकभिजन सर्भिलियन्स पार्टनर र हिट्को फायर एन्ड सेफ्टी पार्टनरका रूपमा रहेका थिए। आइएमई खल्ती को–टिकेटिङ पार्टनर, युनियन पे क्यूआर पार्टनर, पायनियर इभेन्ट म्यानेजमेन्ट एन्ड मिडिया नेटवर्क अडियो–भिजुअल पार्टनर तथा डिजिपल सोलुसन्स डिजिटल पार्टनर थिए।
एटीएस नेपाल भेइकल सेफ्टी पार्टनर, मिडिया स्पेस सोलुसन्स म्यानेजमेन्ट पार्टनर, वल्र्डलिंक कम्युनिकेसन्स कनेक्टिभिटी पार्टनर तथा प्रफिट मिडिया पब्लिकेसन पार्टनरका रूपमा सहभागी थिए।