काठमाडौं । देशभरि खाना पकाउने एलपी ग्यासको चरम अभाव भइरहेका बेला ग्यास विक्रेता महासंघ नेपालले उद्योग र विभिन्न नामका बिक्री केन्द्रबाट भइरहेको ग्यासको प्रत्यक्ष बिक्री तत्काल रोक्न सरकारसँग माग गरेको छ ।
महासंघ अध्यक्ष ज्ञानेश्वर अर्यालले प्रभावकारी वितरण च्यानल (विक्रेता-डिलर) पन्छाएर उद्योग र विभिन्न केन्द्रमार्फत आफैं ग्यास बेच्ने निर्णयले अभाव थप जटिल बनेको र उपभोक्ताले अनावश्यक सास्ती खेप्नुपरेको भन्दै त्यस्तो कार्य तत्काल रोक्न माग गरेका हुन् ।
एकातिर विक्रेतालाई ग्यास नदिने र अर्कातिर अनुगमनको बहानामा दु:ख दिने सरकारी रवैयाका कारण बजार भद्रगोल बनेको महासंघको ठहर छ ।
‘सरकार, उद्योग र बिक्री केन्द्रका नामबाट आफैं ग्यास बिक्री गर्ने, अनि अनुगमनका नाममा आम विक्रेतालाई अनावश्यक दु:ख दिने सरकारी रवैयाप्रति ग्यास विक्रेता महासंघ घोर आपत्ति प्रकट गर्दछ,’ महासंघबाट जारी विज्ञप्तिमा छ ।