आइतवार, श्रावण २४ गते २०८३

चिकित्सक सङ्घको निर्वाचन बैशाखमा

सोमवार , चैत्र १६, २०८२

कठमाडौं । यसअघि रोकिएको नेपाल चिकित्सक सङ्घको निर्वाचन बैशाखमा हुने भएको छ । संघको निर्वाचन समितिले तेस्रो पटक नयाँ कार्यतालिका सार्वजनिक गरेको हो ।

निर्वाचन समितिका अनुसार यसअघि उम्मेदवारी दर्ता गरिसक्नुभएका सबै चिकित्सकहरूको उम्मेदवारी यथावत रहने छ । पाटन उच्च अदालतले उम्मेदवारहरूको पक्षमा फैसला गर्दै पुरानै उम्मेदवारी कायम गर्न आदेश दिएपछि निर्वाचन प्रक्रिया अघि बढेको हो ।

सङ्घको कार्यालयमा सम्पन्न सर्वपक्षीय बैठकले काठमाडौँ उपत्यका बाहिर वैशाख ४ र ५ गते तथा काठमाडौँ उपत्यकाभित्र वैशाख १७ र १८ गते निर्वाचन गर्ने गरी नयाँ कार्यतालिका तय गरिएको जनाएको छ । 

यसअघि सङ्घले वैशाख ११ गते संशोधित तालिका सार्वजनिक गरिएको  थियो । उक्त तालिका अनुसार निर्वाचन गर्ने तयारी गरिए पनि सम्बन्धित पक्षहरूबीच सहमति नजुट्दा पुनः मिति हेरफेर गर्नुपरेको हो । नेपाल चिकित्सक सङ्घको निर्वाचन सुरुमा माघ महिनामा गर्ने गरी तय गरिएको थियो । 

समितिका प्रमुख निर्वाचन अधिकृत डा. प्रणयरत्न शाक्यले अदालतको आदेश तथा सम्बन्धित मुद्दाहरूको निर्णयलाई आधार मानेर नयाँ मिति तय गरिएको जानकारी दिए । उनले निर्वाचन समितिले सम्पूर्ण चिकित्सकहरूलाई तोकिएको मितिमा अनिवार्य रूपमा सहभागी भई लोकतान्त्रिक प्रक्रियालाई सफल बनाउन आग्रह गरेको जानकारी दिए । 

 

सम्बन्धित विषय:

प्रतिक्रिया
सम्बन्धित समाचार