काठमाडौं। सत्तारुढ नेपाली कांग्रेसका युवा नेता गगन थापाले सरकारले आफ्नो काम कारवाहीमा गति लिन नसकेको भन्दै सरकारको कामप्रति असन्तुष्टि जनाएका छन्।
नेपाल विद्युत प्राधिकरण कर्मचारी संघले शुक्रबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रमलाई सम्वोधन गर्दै गर्दै नेता थापाले आफ्नै पार्टी नेतृत्वको सरकारप्रति असन्तुष्टि जनाएका हुन्।
कार्यक्रममा उनले भने, ‘यो सरकारले जुन गति पक्रनुपर्ने हो, त्यो गति हामीले पक्रन सकेका छैनौं। जसरी हामीले २००७ सालपछिको समय खेर फाल्यौँ। फेरी हामीले अब अर्को मौका खेर फाल्दै छौ कि भन्ने डर लाग्न थालेको छ।’ उनले भने, ‘यो बेला सम्हालिनु पर्नेछ। हाम्रा अगाडी केही मौकाहरु अहिले पनि छन्।’
उनले दुई छिमेकी मुलुक भारत र चीनबाट फाईदा लिने मौका नचुकाउन पनि सरकारको ध्यानाकर्षण गराए। कांग्रेस नेता थापाले विद्युत खपत बढाउने विषयमा सोच्न पनि प्रधानमन्त्री शेरबहादुर देउवालाई आग्रह गरे।