हिन्दुु नेपालीहरुको महान पर्व वडा दशैँको रमाइलो माहोलमा हामी रमाइरहेका छौं।
गाउँघरमा अहिले कामको चटारो धान काट्न भ्याइनभ्याइ छ। मखमली, सयपत्री फुलहरु फुलिरहेका छन्। गर्मी अनि जाडो मौसमको समीश्रण अहिलेको मौसम नै रमाइलो लाग्ने गर्दछ मलाई।
घर देखी टाढा स्वदेश तथा विदेशमा रहेका आफन्त, साथीभाईहरु घर फर्किरहेका छन्। चाडपर्व आउँदा सबैको मनमा खुसियाली छाउने गर्दछ। खासगरि दशै र तिहार मलार्ई एकदमै मन पर्ने चाडपर्व हुन्।
दशैँमा नयाँ लुगा लगाएर टिका थाप्दै मान्यजन बाट आर्शिबाद लिनुका साथै नयाँ नोटका दक्षिणा पाइने कुराले साह्रै मन हर्षित हुने गर्दथ्यो त्यो बालापनमा। घरमा बुवाआमाको हात बाट टिका थाप्नासाथ दक्षिणा पाइने आशमा गाउँभरीका सबै आफन्तकहाँ टिका थाप्न गएको अनि दक्षिणा गन्दै बाटोमा हिडेका ति दिनहरु सम्झीदा मन प्रफुलीत भएर आउँछ।
अनि तलाई त नयाँ नोट मलाइ त यस्तो पो, मेरो पैसा यति भयो भन्दै हिडेका दिनहरु सम्झीदा मनै आनन्दीत हुन्छ। कहाँ आउछ र घुमेर त्यो बालापनको उमेर भनेझै साच्चीकै कति सुन्दर हुन्छन् है ति बालापनका साथीहरु अनि यादहरु
खासगरि दशैँको समयमा गाउँघर आफै रमाइलो भए जस्तै लाग्ने गर्दछ मलाई। रातो ,सेतो कमेरो माटोले लिपपोत गरि चिटिक्क पारिएका घरहरु अनि त्यो कमेरो माटो लिन सानीमाहरु संग गएको त्यो रमाइलो पल अहिले पनि मेरो मानसपटलमा ताजै छ। अनि मेरो गाउँमा लाग्ने मेलाको छुट्टै महत्व छ। दुर्गा पुजामा नयाँनयाँ चलचित्र हेर्न पाइन्छ भन्दै ममीलाई झुट बोली भागेर हेर्न गएको अनि मेलामै चप्पल हराएर आएका पुराना दिनहरु सम्झँदा मननै आहा हुने गर्दछ।
विस्तारै अहिले सबै कुराहरु परिवर्तन भएका छन्। कर्णाली क्षेत्रको प्रतिनिधित्व गरेको मेरो जन्मस्थल चिसापानीमा अझै पनि दशैंको दिनदेखी पुर्णीमा सम्म देउडा खेल, धाँमी नाच हुने गर्दछ। यो परम्परा दशकौदेखी चल्दै आएको छ।
छुट्टै विशेषता रहेको मेरो गाउँमा दशैमा अन्य ठाउँ भन्दा रमाइलो लाग्ने भएकाले अन्य जिल्ला तथा विभीन्न स्थान बाट पनि मेला हेर्न मानिसहरु मेरो गाउँमा आउने गर्दछन्। जसले गर्दा दशैँमा मेरो गाउँ आफै सिंगारिने गर्दछ।
उसो त गाउँमा बनाइएका लिङ्गगे पिङ्ग खेल्दाको रमाइलो छुट्टै छ। सबै जात धर्मका आ आफ्नो रितिरिवाज चालचलन रहेको सुन्दरताले भरिपुर्ण विविधतामा एकता रहेको मेरो देशमा छुटाछुट्टै स्थान ठाउँ विशेष चाडपर्वहरु मनाउने तरिकाहरु फरक फरक छन्। सबैलाई आ आफ्नो तरिकाले चाडपर्व मनाउनु पनि एक फरकपन हो।
विविधताले भरिपुर्ण नेपाली समाजमा विभीन्न जातजाति, ठाउँ अनुसार दशैँ मनाउने परम्परा फरक छन्। खासगरि हामी सबैको बालापनका यादहरु ताजै हुने गर्दछन्। हामी सबैका आ आफ्नै खालका रमाइला पलहरु, चकचके स्वभाव थियो होला।
रमाइलो ज्यादै मन पराउने म खाना नै नखाई भागेर मेलामा रमाइलो हेर्न गएका ति दिनहरु सम्झदा फेरि त्यो दिनमा रमाउन मन लाग्छ।मेरी सानीमाको पछि लागेर जहाँ जाँदा पनि उहाँ संगै जानुपर्ने ,हिड्न नसकेपछि सानीमाले नै बोक्नपर्ने, मेलामा नलिएपछि रातभर रोएर बस्ने म चक्लेट ,जेरी खाने आशमा सानीमालाई साह्रै दुख दिएको सम्झँदाआफैलाई बदमास रहेछु भन्ने लाग्छ।
लामो समय सम्म नभेटिएका साथीहरु संग भेट हुने, पुराना यादहरु सम्झदै हामी यो मेला हेर्न जाँदा यत्ति सम्म गरेका थियौ है भन्दै आफ्ना बाल्यकालका बदमासीहरु सम्झँदै उनिहरु संग रमाइलो भेट कुराकानीको मज्जा छुट्टै हुन्छ। दशैको बेलामा गाउँमानै धेरै रमाइलो हुने भएकाले मेरो लागि यो चाड एकदमै खास लाग्छ।
अहिलेको जटिल अवस्थामा कोरोनाका कारण हामीले आफन्त, घरपरिवारका सदस्य, साथीभाई गुमाएका छौ। अस्पतालमा अझै धाइरहन परेको अवस्था छ। कोरोनाको खोप लगाएका मानिसहरुलाई पनि यो माहामारीले रोक्न सकेको छैन भने हामीमध्ये कतिले त खोप नै लगाउन पाएका छैनौ। कोरोनाको माहामारी कहिले सम्म रहने भन्ने अझै सम्म टुगों लाग्न सकेको छैन।
हामी कोरोनाको विषम परिस्थितिमा चाडपर्वहरु मनाउदै छौँ। गत बर्षको जस्तै लकडाउन नभएपनि परिस्थिति भने सहज भइसकेको छैन्। दैनिक १०,१२ जनाको कोरोनाको कारण मृत्यु भइरहेको जटिल अवस्थामा हामी आफै सुरक्षित भएर चाडपर्वहरु मनाउन सकौ सकौं। धेरै भिडभाड, मेला ,रमाइलो पनि नगरौ भन्छु।
रमाइलोको नाममा जथाभावी खानपिन जुवातास, मध्यपान, धम्रपानले पनि हामी आफैलाई असर गरिहेको हन्छ भन्ने नविर्सौँ। खुसी मन भएर चाडपर्व मनाउ , घाँटी हेरी हाँड निलौ। विशेष गरि चाडपर्वहरुमा नै धेरै दुर्घटनाहरु हने गर्दछन्।
उसो त हामीले जानीजानी दुर्घटना बाट बच्न खोज्दापनि घनाहरु घटिरहेका छन्। हामीले ठुलो जनधनको क्षति ब्यहोर्न परेको अवस्था छ। हतार नगरौ संयाित भएर सवारी साधनको प्रयोग गरौ।
स्वदेश तथा विदेशमा रहने सम्पर्ण नेपालीहरुमा दशैको शभकामना , जहाँ जस्तो अवस्थामा छौँ , मन खुसी बनाएर चाडपर्वहरु मनाऔं,सबैको जिवनमा खुसियाली छाओस ,दुर्गा भवानीले हामी सबैको रक्षा गरुन।