आइतवार, श्रावण २४ गते २०८३

ग्यास वितरणमा प्रभावकारी बन्दै ‘क्विक रेस्पोन्स’

आइतवार , श्रावण २४, २०८३


काठमाडौँ । उपभोक्तालाई सहज रूपमा ग्यास उपलब्ध गराउने उद्देश्यले स्थापना गरिएको ‘क्विक रेस्पोन्स’ टिम प्रभावकारी बन्दै गएको छ ।

ग्यास आपूर्ति तथा वितरणमा देखिएका समस्या पहिचान गरी तत्काल समाधान गर्न उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले ‘क्विक रेस्पोन्स’ टिम स्थापना गरेको थियो । दिनहुँ जसो ग्यास नपाएको उपभोक्ताका गुनासा आउने र समाधान गर्ने काम भइरहेकाले पनि सो टिम प्रभावकारी बन्दै गएको हो ।

नेपाल आयल निगमका कर्मचारी र ग्यास उद्योगीका प्रतिनिधिले निगमको केन्द्रीय कार्यालयमा स्थापना गरिएको ‘क्विक रेस्पोन्स’ टिममार्फत उपभोक्ताका गुनासा सुन्ने र समस्या समाधान गर्ने काम गरिरहेका छन् ।

फोनमार्फत उपभोक्ताका गुनासा सुन्ने र समाधान गर्ने काम गरिएको निगमले जनाएको छ ।  शनिबार पनि सो टिम सक्रिय भई उपभोक्ताका गुनासा सुन्ने र समाधान गर्ने काम गरिरहेको निगमले जनाएको छ । 
ग्यास वितरणसँग सम्बन्धित दैनिक तीन सयदेखि चार सयभन्दा बढी गुनासा आउने र तिनलाई सम्बोधन गर्ने काम भइरहेको निगमले जनाएको छ । एलपी ग्यास उद्योग सङ्घ नेपालका अध्यक्ष कृष्णभक्त श्रेष्ठले उपभोक्ताबाट ग्यास नपाएको गुनासो धेरै आएकाले नजिकका उद्योग र डिलरलाई सम्पर्क गरी ग्यास उपलब्ध गराउने काम गरिएको जानकारी  दिए । 

विद्यार्थी, अपाङ्ग, बुढाबुढी, सुत्केरी महिलालाई ग्यास सहजै उपलब्ध गराउने भनेर ‘क्विक रेस्पोन्स’ टिम स्थापना गरिए पनि डिलरमा ग्यास आएन भन्ने गुनासोसमेत आउने गरेको उहाँको भनाइ छ ।

उपभोक्ताबाट प्राप्त गुनासो सुन्ने, सम्बन्धित ग्यास उद्योग तथा विक्रेतासँग समन्वय गर्ने र आवश्यकता अनुसार आपूर्ति व्यवस्थापन मिलाउने काम भइरहेको सङ्घले जनाएको छ । पछिल्लो समय बजारमा ग्यास अभाव भएपछि उपभोक्ताले सहजै पाउन सकेका छैनन् । ग्यासको आयात नियमित भइरहे पनि बजारमा माग उच्च हुँदा अभाव भएको निगमको भनाइ छ । 

पश्चिम एसियाली मुलुकमा भएको युद्धको प्रभावले बजारमा ग्यास अभाव भएपछि आपूर्ति व्यवस्था सहज बनाउन गत फागुन २८ देखि आधा तौल (७.१ केजी) ग्यास सिलिन्डर वितरण गर्दै आएको थियो । गत ३१ असारदेखि पूर्ण तौलको (१४.२ केजी) को सिलिन्डर वितरण सुरु गरेपछि बजारमा अभाव हुन थालेको हो । 

  

प्रतिक्रिया
सम्बन्धित समाचार