काठमाडौं । काठमाडौं उपत्यकामा खाना पकाउने एलपी ग्यासको सहज आपूर्तिका लागि भन्दै नेपाल एलपी ग्यास उद्योग संघले सबै ब्रान्डका ग्यास सिलिन्डर संयुक्त रूपमा बिक्री गर्ने व्यवस्था बुधबारसम्म मात्र कायम रहने भएको छ ।
संघले नेपाल आयल निगममार्फत भारतका विभिन्न रिफाइनरीबाट एलपी ग्यासको आयात भइरहेको र भदौमा मात्रै काठमाडौं उपत्यकामा ४२ लाख १३ हजार ६६१ सिलिन्डर एलपी ग्यास बिक्री भएको जनाएको छ ।
चाडपर्वको समयमा उपभोक्ताले सहज रूपमा ग्यास नपाएको तथा एउटा ब्रान्डको सिलिन्डर अर्को ब्रान्डसँग साट्न समस्या भएको गुनासो आएको भन्दै संयुक्त बिक्री वितरणको व्यवस्था गरिएको थियो ।
जसमा उपत्यकामा बजारीकरण भइरहेका सबै ब्रान्डका एलपी ग्यास सिलिन्डर असोज २५ गते आइतबारदेखि असोज ३० गते शुक्रबारसम्म संयुक्त रूपमा बिक्री वितरण गर्ने व्यवस्था गरिएको थियो ।
तर, डिलरमार्फत नियमित रूपमा ग्यास आपूर्ति गर्नुपर्ने भन्दै उक्त व्यवस्था असोज २८ गते बुधबारसम्म मात्र लागु हुने संघले जनाएको छ ।
अब नियमित रूपमा डिलरमार्फत ग्यास बिक्री हुने भएकाले नजिकको डिलरबाट ग्यास खरिद गर्न संघले आग्रह गरेको छ ।