मंगलवार, आश्विन २७ गते २०८३

यी दश स्थानमा हुुँदैछ खसीबोकाको परीक्षण, स्वस्थकर खसीको सिङमा हरियो कलर

मंगलवार , आश्विन २७, २०८३

काठमाडौँ । दसैँका लागि काठमाडौँ उपत्यकामा ल्याइएका पशुको स्वास्थ्य परीक्षण सुरु भएको छ । सरकारले काठमाडौँ उपत्यकामा मुख्य १० वटा स्थानरबजारमा खसीबोका, च्याङ्ग्रा र राँगाभैँसीको स्वास्थ्य परीक्षण सुरु गरेको हो । 

दसैँमा उपत्यकामा मासुका लागि धेरै सङ्ख्यामा पशुपन्छी खपत हुने र बिरामी अस्वस्थकर पशु भित्रिन सक्ने भएकाले बेच्ने ठाउँमा नै स्वास्थ्य परीक्षण गरिएको पशुसेवा विभागले जनाएको छ ।

पशुसेवा विभाग, जिल्ला पशुसेवा कार्यालय र सम्बन्धित स्थानीय निकायका प्रतिनिधिसहितको टोलीले आइतबारदेखि परीक्षण सुरु गरको हो ।

पशुसेवा विभागका पशु चिकित्सक हरिसिंह भाटले उपत्यका भित्रिने १० वटा स्थानमा स्वास्थ्य परीक्षण गरेर मात्र खसीबोका र राँगाभैँसी पठाइएको जानकारी दिए । 

खानयोग्य पशुको कानमा हरियो रङ र अस्वस्थकर खसीबोकाका लागि रातो रङ लगाइएको पशु चिकित्सक भाटले जानकारी दिए । खसीबोका खरिद गर्ने उपभोक्ताले सिङमा हरियो रङ लगाइएको छ वा छैन यकिन गरेर मात्र खरिद गर्न उहाँले आग्रह गर्नुभयो । घटस्थापनाका दिनदेखि नवमीसम्म १० वटा टोली परिचालन गरेर खसीबोकाको स्वास्थ्य परीक्षण गरिने उनले जानकारी दिए । 

विभागका अनुसार खसीबोका भित्रिने कलङ्की खसीबजार, धापाखेल र चापागाउँ खसीबजार, टुकुचा खसीबजार र खाद्य कम्पनी थापाथलीमा स्वास्थ्य परीक्षण सुरु गरिएको छ । 

यस्तै टोखा, कपन, सुकेधारा, लोकन्थली बजार, सल्लाघारी च्याङ्ग्राबजार, चोभार, चाल्नाखेल रागाँबजार, चन्द्रागिरि, बालाजु बाइपास र बल्खु कालीमाटी माछाबजारमा बिहान ७ देखि ११ बजे र दिउँसो ३ देखि ५ बजेसम्म खसीबोकाको परीक्षण गरिएको विभागले जनाएको छ । आइतबार उपत्यकामा दुई हजार पाँच खसीबोका, च्याङ्ग्रा भित्रिएका विभागले जनाएको छ । गत वर्ष दसैँमा ३५ हजार ८४८ पशुको स्वास्थ्य परीक्षण गरिएको विभागले जनाएको छ । 

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार