ललितपुर, असोज २४ गते । नेपाली कांग्रेसको केन्द्रीय सभापतिमा गगनकुमार थापा निर्वाचित हुनुभएको छ।
नेपाली कांग्रेसको विधान, २०७७ (एघारौँ संशोधनसहित) तथा निर्वाचन निर्देशिका, २०८२ बमोजिम सम्पन्न पार्टीको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचनमा थापा सभापति पदमा निर्वाचित हुनुभएको हो।
नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिले असोज २४ गते सार्वजनिक गरेको निर्वाचन परिणामअनुसार सभापति पदका उम्मेदवार थापाले छ हजार ५८४ मत प्राप्त गर्नुभएको छ। उहाँका प्रतिस्पर्धी श्यामकृष्ण खड्गीले ३७५ मत प्राप्त गर्नुभएको छ।
निर्वाचन समितिका अनुसार कुल सात हजार १३ मत खसेकोमा ५४ मत बदर भएको थियो। कायम मत सङ्ख्या छ हजार ९५९ रहेको निर्वाचन परिणाममा उल्लेख छ।
निर्वाचन समितिका संयोजक प्रेमबहादुर खड्कासहित सदस्य सचिव राजु कटवाल र सदस्य सुजन लोप्चनले हस्ताक्षर गरी निर्वाचन परिणाम सार्वजनिक गर्नुभएको हो।