बिहिवार, आश्विन २२ गते २०८३

आर्थिक स्वतन्त्रतामा नेपाल खस्कियो, १६५ देशमध्ये ९०औँ स्थानमा

बुधवार , आश्विन २१, २०८३

काठमाडौँ । आर्थिक स्वतन्त्रताको विश्वव्यापी सूचकाङ्कमा नेपाल एक स्थान तल झरेको छ।

समृद्धि फाउन्डेसन र क्यानडास्थित फ्रेजर इन्स्टिच्युटले सार्वजनिक गरेको ‘विश्व आर्थिक स्वतन्त्रता : २०२६ वार्षिक प्रतिवेदन’ अनुसार नेपाल १६५ देशमध्ये नेपाल ९०औँ स्थानमा पुगेको हो।

गत वर्ष नेपाल ८९औँ स्थानमा थियो। यस वर्ष नेपालले १० मध्ये ६.५९ अंक प्राप्त गरेको छ। गत वर्ष नेपालको अंक ६.५८ थियो। अंकमा सामान्य सुधार भए पनि अन्य देशको तुलनामा नेपाल एक स्थान तल झरेको हो।

समृद्धि फाउण्डेशनले नेपालमा १९औँ पटक यो प्रतिवेदन सार्वजनिक गरेको हो।

प्रतिवेदनअनुसार उच्च आर्थिक स्वतन्त्रता भएका देशमा बसोबास गर्ने मानिसको समृद्धि, राजनीतिक तथा नागरिक स्वतन्त्रता र औसत आयु तुलनात्मक रूपमा बढी हुने गरेको छ। सन् २०२४ मा आर्थिक स्वतन्त्रताको उच्च चतुर्थांशमा रहेका देशहरूको औसत प्रतिव्यक्ति आय ६५ हजार ५९६ अमेरिकी डलर रहेको थियो भने तल्लो चतुर्थांशमा रहेका देशहरूको औसत प्रतिव्यक्ति आय ९ हजार ५५२ डलर थियो।

त्यस्तै, उच्च आर्थिक स्वतन्त्रता भएका देशको औसत आयु ८०.७ वर्ष रहेकोमा तल्लो चतुर्थांशमा रहेका देशको औसत आयु ६७.१ वर्ष रहेको प्रतिवेदनमा उल्लेख छ।

फ्रेजर इन्स्टिच्युटका आर्थिक स्वतन्त्रतासम्बन्धी अनुसन्धान अध्यक्ष फ्रेड म्याकमहोनले मानिसलाई आफ्ना अवसर खोज्न र आफ्ना निर्णय आफैँ गर्न स्वतन्त्रता भएको समाज बढी समृद्ध, सुखी र स्वस्थ हुने बताएका छन्।

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार