बुधवार, आश्विन १४ गते २०८३

आजदेखि ‘सीप तथा रोजगार मेला,असोज २० सम्म चल्ने

बुधवार , आश्विन १४, २०८३

काठमाडौं । सरकारले युवालाई व्यावहारिक सीप प्रदान गरी रोजगारका अवसरहरूसँग जोड्ने उद्देश्यका साथ सुनसरीको इटहरीमा आजदेखि ‘सीप तथा रोजगार मेला, २०८३’ आयोजना गर्दैछ। 

युवा, श्रम तथा रोजगार मन्त्रालयले आयोजना गरेको मेला यही असोज २० गतेसम्म सञ्चालन हुनेछ।

यस मेलाको उद्घाटन प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले गर्ने कार्यक्रम छ। युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवको अध्यक्षतामा आयोजना हुने उद्घाटन सत्रमा सांस्कृतिक झाँकीका रूपमा थारू नृत्य तथा नौमती बाजाको प्रस्तुति रहनेछ। 

त्यसलगत्तै युवालाई उद्यमशीलतातिर आकर्षित गर्ने लक्ष्यका साथ ‘आजको युवा, भोलिको उद्यमी: सार्क संवाद’ शीर्षकमा विशेष प्यानल छलफल सञ्चालन गरिनेछ।

​मेलाको मुख्य उद्देश्य युवाको सीप पहिचान गरी रोजगारदाता र तालिम प्रदायक संस्थाहरूसँग प्रत्यक्ष सम्पर्क स्थापित गराउनु रहेको छ। 

आजै दिउँसो १२:०० देखि ५:०० बजेसम्म तालिमका सहभागी छनोट, प्रशिक्षार्थीको समूह विभाजन, रोजगार मिलानका लागि सीप प्रोफाइलिङ, रोजगारदाता र तालिम प्रदायकको परिचय तथा सूचना-परामर्श सेवाहरू सञ्चालन गरिनेछ।

​भोलिदेखि असोज १९ गतेसम्म १० वटा विभिन्न विषयगत (ट्रेड) क्षेत्रमा ५ दिने व्यावहारिक तालिमहरू सञ्चालन हुनेछन्।

मेला अवधिभर प्रदर्शनी स्टल, सूचना तथा परामर्श सेवा, रेफरल सुविधा, रोजगार मिलान तथा उद्यमशीलतासम्बन्धी छलफलहरू निरन्तर जारी रहनेछन्।

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार